अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

गठबन्धनमा असहजता अनुभूत भयो : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८१ वैशाख १० गते ६:५० मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताउनुभएको छ । सोमवार नेकपा एमालेको केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रिय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राजनीति जटिल रहेको बताउनुभयो ।अध्यक्ष नेपालले छोटो समयमा गठबन्धन फेरिरहेको भन्दै उहाँले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ ? भन्ने प्रश्न उठिरहेको भन्दै गठबन्धन लामो समयसम्म जानेमा आशंका व्यक्त गर्नुभयो । उहाँले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको जिकिर गर्नुभयो ।

अध्यक्ष नेपालले कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि आफूहरु राजनीतिमा नआएको बताउनुभयो । उहाँले वर्तमान सत्ता गठबन्धनमा आफूहरुले सहजता महशुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।

‘नेपालको राजनीति जटिल छ । छोटो समयभित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्युले दिनुहुनेछ । मैले दिन सक्दिन । तर पनि अलिअलि भन्न सक्छु । परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ । कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ ।’ अध्यक्ष नेपालले भन्नुभयो ।

अध्यक्ष नेपालले जनताका जनजीविकाका सवालहरु, समानता र न्याय, रोजगारीका समस्याहरु, आर्थिक उन्नतिको कुरामा कम्युनिष्ट पार्टीले आवाज बुलन्द गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू