अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३८ | Colorodo: 13:53

इजरायल र इरानबीच युद्धको जोखिम बढ्यो : आक्रमण नगर्न इरानलाई अमेरिकाको चेतावनी

बिआरटीनेपाल २०८१ वैशाख १ गते ७:२६ मा प्रकाशित

इजरायल र इरानबीच ठूलो युद्धको जोखिम बढेको छ । यही अप्रिल एक तारिखमा इजरायलले सिरियाको दमास्कसमा रहेको इरानी दूतावासनजिकै हवाई आक्रमण गर्दा इरानका दुईजना शीर्ष सेना कमान्डरसहित १३ जनाको ज्यान गएको थियो । यो घटनापछि इरानले इजरायललाई गतिलो जवाफ दिने चेतावनी दिएको थियो ।अहिले इरानले भित्रभित्रै इजरायलमा आक्रमण गर्ने तयारी थालेको छ । इरानले सेना, रिभोलुस्नरी गार्ड, मिसाइल र आणविक हतियार तयारी अवस्थामा राखेको छ । सिरिया र लेबनानमा रहेका आफ्ना सैन्य शिविरमा पनि इरानले जनशक्ति र हतियार बढाएको छ । इजरायलले पनि इरानको आक्रमणविरुद्ध आक्रामक र रक्षात्मक दुवै हिसाबले तयार रहेको प्रतिक्रिया दिइसकेको छ ।

यस्तै अमेरिकाले इजरायललाई आफ्नो पूर्ण समर्थन रहेको भन्दै आक्रमण नगर्न इरानलाई चेतावनी दिएको छ । राष्ट्रपति जो बाइडेनले यदी इरानले इजरायलमा आक्रमण गरेमा आफूहरु चुप नबस्ने र इरानको हार निश्चित हुने चेतावनी दिनुभएको छ । इरानले जानाजान आफ्नो हारको बाटो नलिने बाइडेनको तर्क छ । अमेरिकाले आफ्नो युद्धपोतलाई मध्यपूर्वमा फेरि सक्रिय बनाएको छ ।

यसैबीच इरानले इजरायलमा तत्कालै आक्रमण गर्नसक्ने अनुमानपछि भारतसहितका पाँच देशले ट्राभल एड्भाइजरी जारी गरी आफ्ना नागरिकलाई इरान र इजरायलमा अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन् । भारत, अमेरिका, बेलायत, रुस र फ्रान्सले आफ्ना नागरिकलाई उच्च सर्तकता अपनाउन पनि आग्रह गरेका छन् । जर्मनीले आफ्ना नागरिकलाई इरान छाड्न भनेको छ ।

यस्तै अष्ट्रेलियाका एअरलाइन्सले छ दिनको लागि इरानका उडान रद्द गरेका छन् । यस्तै विभिन्न देशका एअरलाइन्सले इरानको हवाई रुट प्रयोग नगर्ने घोषणा गरेका छन् । यस्तै टर्कीले यदी अमेरिकाले इरानमा आक्रमण गरेमा आफ्नो एअर बेस र हवाई क्षेत्र अमेरिकालाई प्रयोग गर्न नदिने चेतावनी दिएको छ । कुवेत र कतारले पनि आफ्ना एअर बेस अमेरिकालाई प्रयोग गर्न नदिने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू