अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०४ | Colorodo: 06:19

अमेरिकाले गाजामा पहिलो पटक हवाईमार्गबाट राहत सामग्री पुर्‍यायाे

बिआरटीनेपाल २०८० फागुन २० गते ५:२० मा प्रकाशित

अमेरिकाले पहिलो पटक हवाईमार्गबाट गाजा क्षेत्रमा राहत सामग्री पुर्‍याएको छ । अमेरिकाले जोर्डनसँगको समन्वयमा तीन वटा सैन्य विमान मार्फत खानाका ३८ हजार पोका पुर्‍याएको बीबीसीले जनाएको छ । गएको बिहीवार गाजामा राहत सामग्री लगिरहेका ट्रकलाई पीडितहरुले रोक्न खोज्दा भएको आक्रमणमा एक सय १२ जनाको ज्यान गएपछि अमेरिकाले हवाईमार्गबाट राहत सामग्री पुर्‍याएको हो । राहत सामग्री पुर्‍याउन भएको अवरोधका कारण गाजामा खाद्य सङ्कट बढ्दै गएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो तत्काल हवाईमार्गबाट राहत पुर्‍याउन निर्देशन दिनुभएको हो ।

गाजामा यसअघि बेलायत, फ्रान्स र जोर्डनले पनि हवाईमार्गबाट राहत सामग्री पुर्‍याएका छन् । बिहीवार एक सय १२ जनाको ज्यान जानेगरी भएको घटना पनि भोका मानिसले राहत बोकेको ट्रक रोक्न खोज्दा भएको भन्दै घटनाको छानबिन हुनुपर्ने अन्तराष्ट्रिय दबाब बढेको छ ।

संयुक्त राष्ट्रसङ्घले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार गाजामा ८४ प्रतिशत भन्दा धेरै महिला आधा पेट खानामा बाँचिरहेका छन् । इजरायलले गाजामा गरिरहेको आक्रमणमा २१ हजार महिला तथा बालबालिका सहित ३० हजार भन्दा धेरैको ज्यान गएको छ । सात सय मानिस हराइरहेका र ७० हजार चार सय जनाभन्दा धेरै घाइते भएका प्यालेस्टिन विद्रोही समूह हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू