अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

काेराेना खाेप विकासमा संलग्न २ जना वैज्ञानिकलाई यस वर्षकाे नाेबेल चिकित्सा पुरस्कार

बिआरटीनेपाल २०८० असोज १५ गते ६:०५ मा प्रकाशित

यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको खोप विकासमा संलग्न अमेरिकी वैज्ञानिकद्वय डा. क्याटलिन कारिको र डा. ड्र्यु वाइसम्यानले संयुक्तरूपमा प्राप्त गर्नुभएको छ ।कोरोना भाइरसविरुद्धको खोप बनाउन प्रविधिको विकास गरेबापत उहाँहरूलाई नोबेल चिकित्सा पुरस्कार प्रदान गर्ने निर्णय गरेको नोबेल पुरस्कार कमिटिलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । स्विडिस एकेडेमीले आज साेमवार एक कार्यक्रमका बीच चिकित्सातर्फको नोबेल पुरस्कार विजेताकाे घोषणा गरेको हो । विजेतालाई स्वर्ण पदक र संयुक्तरूपमा १० लाख अमेरिकी डलर दिइनेछ ।

सन् २०१९ मा कोरोना शुरु भए पनि यी वैज्ञानिक एमआरएनए खोप विकासका लागि त्यसअघिदेखि नै अनुसन्धानमा खटिएका थिए । एमआरएन प्रविधि क्यान्सरसहित अरू रोगविरुद्धको खोप विकासमा लागि समेत भइरहेका अनुसन्धानमा प्रयोग भएको छ । कोरोना महामारीका बेला मोडर्ना, फाइजर/बायोएनटेक लगायतका कम्पनीले एमआरएनए प्रविधिमा आधारित खोप बनाएका थिए । कोरोनाविरुद्धको खोपले लाखौँ मानिसको ज्यान जोगाउन सफल भएको समेत नोबेल कमिटीले जनाएको छ । यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार भोलि अर्थात् अक्टोबर ३, रसायन शास्त्रतर्फको अक्टोबर ४, साहित्यतर्फ अक्टोबर ५, शान्तिका लागि अक्टोबर ६ र अर्थशास्त्रका लागि अक्टोबर ९ मा विजेता घोषणा गर्ने नोबेल कमिटीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू