अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३ | Colorodo: 00:38

नासाले ७ वर्षअघि अन्तरिक्षमा पठाएको यान आइतवार पृथ्वीमा अवतरण गर्दै

बिआरटीनेपाल २०८० असोज ५ गते ७:१६ मा प्रकाशित

अमेरिकी अन्तरिक्ष निकाय (नासा) ले सन् २०१६ को सेप्टेम्बरमा पठाएको अन्तरिक्ष यान एउटा छुद्रग्रहबाट नमुना लिएर पृथ्वीतर्फ फर्किएको छ । ओसिरिस–रेक्स मिसन नामको अन्तरिक्ष यान पर्सि आइतवार पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने नासालाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।यान अमेरिकाको उटाह राज्यको पश्चिमी मरुभूमिमा अवतरण हुने छ । आइतवार स्थानीय समयअनुसार ६ बजेर ४२ मिनेटमा अवतरण हुने नासाको अनुमान छ । अवतरण सफल भएमा यो नासाको विशेष सफलता हुने छ । यानको क्याप्सुलमा ‘बेन्नु’ नामको क्षुद्रग्रहबाट सङ्कलन गरेको धुलोको नमुना छ । झन्डै ५०० मिटर अग्लो पहाड आकारको अन्तरिक्ष चट्टान ‘बेन्नु’ ले पृथ्वी र जीवनको अस्तित्वबारे थप नयाँ कुरा सतहमा ल्याउने नासाको विश्वास छ ।

सन् २०१६ को सेप्टेम्बर ८ मा प्रक्षेपण भएको ओसिरिस–रेक्स मिसन सन् २०१८ मा ‘बेन्नु’ को अक्षमा पुगेको थियो । दुई वर्ष ‘बेन्नु’ को परिक्रमा गरेको यानले सन् २०२० को अक्टोबर २० मा नमुना सङ्कलन गरेको थियो । सन् २०२१ को मेमा पृथ्वीतर्फ फिर्ता आउने यात्रा थालेको यान अहिले वायुमण्डलमा फेरि प्रवेश गर्न लागेको हो । झन्डै ७ वर्षमा यानले ६ अर्ब ४० करोड किलोमिटर यात्रा गरेको छ । ‘बेन्नु’ क्षुद्रग्रह झन्डै साढे ४ अर्ब वर्षअघि सौर्यमण्डलको उत्पत्ति भएका बेला बनेको सबैभन्दा पुरानो क्षुद्रग्रहमध्ये को हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू