अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

पृथ्वीभन्दा ८.६ गुणा ठुलो ग्रहमा जीवनको सङ्केत

बिआरटीनेपाल २०८० भदौ २८ गते ८:१८ मा प्रकाशित

पृथ्वीबाट करिब १२० प्रकाश वर्ष टाढा रहेको एक ग्रहको सतहमा पानी हुन सक्ने जेम्स वेब स्पेस टेलिस्कोपबाट प्राप्त नयाँ तथ्यहरूले देखाएको छ । विश्वकै सबैभन्दा विकसित मानिने उक्त स्पेस अबजरभेटरीले ‘एक्सोप्लानेट के २–१८ बी’ मा पानी र जीवन पाउने मुख्य विशेषताहरु हुनसक्ने खुलासा गरेको हो । के २–१८ नामक ‘कूल ड्वार्फ’ तारालाई नजिकबाट परिक्रममा गरिरहेको उक्त ग्रह ताराको ‘गोल्डीलक्स’ (जीवनयोग्य) क्षेत्रभित्र पर्ने तथा पृथ्वीभन्दा ८.६ गुणा ठुलो रहेको छ । टेलिस्कोपबाट गरिएको अध्ययनबाट ग्रहमा मिथेन र कार्बोन डायोअक्साइडको ठुलो मात्रा रहेको बताइएको छ ।

अमोनियाको कमीसहित कार्बन रहेको अणुहरूले त्यहाँको वायुमण्डलमा हाइड्रोजनको ठुलो मात्रा र समुद्री जीवन रहेको सङ्केत गर्ने नासाको नयाँ विज्ञप्तिमा जनाइएको छ । कार्बनलाई पृथ्वीमा जीवनको आधारभूत तत्त्व मानिन्छ । हबल स्पेस टेलिस्कोपले सबैभन्दा पहिले गृहको वायुमण्डलमा पानीको बाफ फेला पारेको थियो । सन् २०१९ को सेप्टेम्बरमा प्रकाशित उक्त अध्ययन रिपोर्टले के २–१८ बी बारे थप अध्ययन गर्न वैज्ञानिकहरूलाई सहयोग गरेको थियो ।

त्यसपछि मानिसको आँखाले देख्न नसक्ने इन्फ्रारेड प्रकाशलाई समेत पत्ता लगाउन सक्ने वेब टेलिस्कोपले त्यहाँको वायुमण्डलमा के–के तत्त्व रहेको छ भन्ने खोजी गरेको थियो । पछिल्लो अध्ययनबाट उक्त ग्रहमा ‘डिमिथायल सल्फाइड’ ९डीएमएस० नामक विशेष अणुसमेत रहेको हुन सक्ने देखिएको छ । नासाका अनुसार पृथ्वीमा जीवित वस्तुबाट मात्र डिमिथायल सल्फाइड निर्माण हुन्छ । पृथ्वीको वायुमण्डलमा रहेको डीएमएस पानीमा पाइने फाइटोप्ल्याङ्टनबाट निष्कासित हुने गर्दछ ।

यद्यपि, उक्त ग्रहमा ‘एलियन जीवन’ रहेको शोधकर्ताहरूले ठोकुवा भने गरेका होइनन् । क्याम्ब्रिज विश्वविद्यालयमा प्राध्यापक रहेका खगोलशास्त्री निकु मधुसूदनका अनुसार डीएमएस त्यहाँ रहे–नरहेको पुष्टि गर्न थप अध्ययन आवश्यक रहेको छ । त्यहाँ डीएमएस रहेको पुष्टि भयो भने पनि त्यसको अर्थ त्यहाँ जीवन छ नै भन्ने ठ्याक्कै प्रमाणित हुँदैन । यद्यपि, यसले ग्रहहरूबारे थप अध्ययन गर्न भने मद्दत मिल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू