अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१३ | Colorodo: 08:28

शेयर बजारमा बढी कमाउनेहरूले कर नतिर्ने चलखेल गरे : अर्थमन्त्री महत

बिआरटीनेपाल २०८० जेठ १७ गते ७:१२ मा प्रकाशित

अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर (पुँजी) बजारलाई तलमाथि गराउने समूहलाई करको दायरामा ल्याउँदा आफूमाथि जोखिम बढेको बताउनुभएको छ ।बुधवार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘पोस्ट–बजेट डिस्कसन’ कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले शेयर बजारमा ठूलो लगानी गरेर आम्दानीको स्रोत बनाउनेहरूलाई इमानदार भएर करको दायरामा ल्याउन खोज्दा आफूलाई नै जोखिम महसुस भएकाे बताउनुभयो । मन्त्री महतले शेयर बजारमा ठूलो लगानीकर्ताहरूको समूहले बजारलाई तल झारेर तुरुन्तै शेयर किनेर बजार माथि लैजाने गरेको दाबी गर्नुभयो । सरकारले यस्तो प्रणालीको अन्त्य गर्न खोजेको उहाँले बताउनुभयाे ।

सरकारले बजेटमार्फत शेयर बजारमा बढी आय गर्नेहरूलाई करको दायरामा ल्याउँदा स्वार्थ समूहहरूले अर्थमन्त्रीले शेयर बजारलाई समाप्त पार्न खोज्यो, ६० लाख लगानीकर्ता समाप्त हुने भए भन्नेजस्ता दुष्प्रचार गरिरहेको बताउनुभयो । उहाँले शेयर बजारमा बढी कमाउनेहरूले कर नतिर्ने चलखेल गरेको दाबी गर्नुभयाे । उहाँले भन्नुभयो, ‘जसले धेरै पुँजी बजारमा लगानी गरिरहेको छ त्यसैले पुँजी बजारलाई माथि लाने र तल लाने काम गर्छ । यसलाई हामीले प्रणालीमा ल्याउने कि नल्याउने ? स्वार्थ समूहहरू चाैतर्फीरूपमा लाग्छन् । खतम गर्‍याे अर्थमन्त्रीले, समाप्त पार्‍याे भन्छन् । ६० लाख लगानीकर्ता समाप्त हुने भए भनेर हुन्छ । अहिले अर्थमन्त्रीका लागि जोखिम पनि त्यहीँ देखिरहेको छु । इमानदार हुँदा हुने देखेको जोखिम हो । स्वार्थ समूहहरूले अर्थमन्त्रीलाई गाली गर्ने नै भए । जसले कर तिर्नुपर्ने हुन् उनीहरूलाई कसैले पनि छुने कोसिस गदैनन् । उनीहरू करको दायरामा आउनुपर्छ, त्यसरीमात्रै राजस्व बढ्छ ।’

मन्त्री महतले शेयर बजारकाे विषयमा अनावश्यक हल्ला फैलाउन उचित नभएको बताउनुभयो । अहिले शेयर बजारमा सानो लगानी गरेर पाँचदेखि छ लाख रुपैयाँ कमाउनेहरूले सरकारलाई कर तिरेको तर धेरै आम्दानी गर्नेहरू करको दायरामा नआएको उहाँकाे गुनासाे छ । अर्थमन्त्री महतले मिडियाले बजेटका राम्रा कार्यक्रम ढाकेर सांसद विकास कोषको प्रचार गरेको गुनासो गर्नुभयो । उहाँले सरकारले अर्थतन्त्र सुधार गर्न ल्याएका अन्य धेरै व्यवस्थालाई ओझेलमा पर्ने गरी सांसद विकास कोषलाई ‘हाइलाइट’ गरिएको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०८०/८१ को बजेटले आमूल परिवर्तन गर्न नसके पनि आर्थिक अवस्था सुधार गर्ने दाबी गर्नुभयाे ।

प्रतिक्रिया