अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४५ | Colorodo: 20:00

इराकमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ चैत ३ गते ७:५२ मा प्रकाशित

उत्तरी इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रुको मृत्यु भएको क्षेत्रीय आतङ्कवाद प्रतिरोधी निकाय (सीटीएस) ले जनाएको छ ।युरोकोप्टर एएस ३५० हेलिकप्टर दुहोक प्रान्तको एक गाउँ नजिकै बुधबार राति ८ः४० बजे दुर्घटनाग्रस्त भएको कुर्दिश सीटीएसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नाम नबताउने शर्तमा कुर्दिश सुरक्षा स्रोतले भनेको छ, “हेलिकप्टरभित्र भएको विस्फोटका कारण विमान दुर्घटना भएको र विमानमा रहेका सात जनाको मृत्यु भएको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ ।

स्रोतका अनुसार हेलिकप्टर तेल खानी नजिकै दुर्घटनाग्रस्त भएको थियो, जसलाई घटनाले कुनै असर गरेको थिएन ।कुर्दिश सीटीएसको वक्तव्यअनुसार इराकी सरकार, अमेरिकी नेतृत्वको गठबन्धन र टर्की सरकारले हेलिकप्टरको स्वामित्व अस्वीकार गरेका छन् ।कुर्दिश सुरक्षा बलले हेलिकप्टरको स्वामित्वबारे अनुसन्धान सुरु गरेको र मृतकमध्ये केही कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) का लडाकू रहेको विज्ञप्तिमा उल्लेख छ ।

पिकेकेलाई टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घद्वारा आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध गरिएको छ । टर्कीको सेनाले उत्तरी इराक, विशेष गरी पिकेकेको मुख्य आधार कान्दिल पर्वतमा अक्सर स्थलगत अभियान, हवाई आक्रमण र तोप बमबारी गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू