अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२४ | Colorodo: 06:39

रुसले युक्रेनका थप ४ वटा क्षेत्रलाई भोलि औपचारिकरूपमा आफ्नो देशमा गाभ्ने

बिआरटीनेपाल २०७९ असोज १३ गते ९:३१ मा प्रकाशित

रुसले युक्रेनका थप चार वटा क्षेत्रलाई भोलि शुक्रवार औपचारिकरूपमा आफ्नो देशमा गाभ्ने भएको छ । यसअघि जनमत सङ्ग्रह गरेर अनौपचारिक परिणाम घोषणा गरेको रुसले भोलि पूर्वका लुहान्स्क र डोनेट्स्क तथा दक्षिणका जापोरिज्जिया र खेरसनलाई आफ्नो देशमा गाभ्ने घोषणा गर्न लागेको बीबीसीले जनाएको छ ।

चार वटा क्षेत्र गाभ्ने घोषणामा राष्ट्रपति पुटिनले भोलि हस्ताक्षर गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले बताउनुभएको छ । रुसी समर्थित अधिकारीहरूले यसअघि पाँच दिने जनमत सङ्ग्रहबाट लगभग ९९ प्रतिशत नागरिकले रुसमा गाभिने पक्षमा मतदान गरेको दाबी गरेका थिए । गाभिन लागेका क्षेत्रले युक्रेनको १५ प्रतिशत भू–भाग ओगट्छन् ।

भोलि राष्ट्रपति कार्यालयमा हुने विशेष समारोहमा पुटिनले विशेष सम्बोधनसहित युक्रेनका चार वटा क्षेत्र गाभ्ने घोषणामा हस्ताक्षर गर्नुहुनेछ । बेलुकी साङ्गीतिक कार्यक्रमसहित कन्सर्टको आयोजना गरिएको खबरमा उल्लेख छ ।

जनमत सङ्ग्रह र युक्रेनका क्षेत्रलाई रुसमा गाभ्ने निर्णयको अन्तर्राष्ट्रिय समुदायको विशाल बहुमतले भने मान्यता दिएको छैन । अमेरिकाले जनमत सङ्ग्रहको कारण रुसमाथि प्रतिबन्ध लगाउने बताएको छ भने युरोपेली सदस्य राष्ट्रहरूले पनि आठौँ चरणको प्रतिबन्धबारे विचार गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू