अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१ | Colorodo: 07:56

बाढीको प्रकोपमा परेको पाकिस्तानलाई थप १० मिलियन डलर सहयोग दिने अमेरिकाको घोषणा

बिआरटीनेपाल २०७९ असोज ११ गते ७:०१ मा प्रकाशित

अमेरिकाले बाढीबाट प्रभावित भएको पाकिस्तानमा खाद्य सुरक्षाका लागि थप १० मिलियन डलर सहयोग गर्ने भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टोसँगको भेटवार्तापछि थप १० मिलियन डलर अर्थात् दुई अर्ब ३५ करोड पाकिस्तानी रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ । अमेरिकाले यसअघि नै ४५ मिलियन डलर अर्थात् साढे १० अर्ब पाकिस्तानी रुपियाँ बाढी पीडितका लागि सहयोग गरिसकेको छ । पछिल्लो समय घोषणा गरिएको रकम खाद्य सुरक्षाका लागि मात्रै खर्च हुने खबरमा उल्लेख छ ।

अमेरिकी विदेशमन्त्री ब्लिङ्कनले पाकिस्तान निकै समस्यामा रहेको भन्दै दुःखमा परेको बेला अमेरिकी सरकार पाकिस्तानको साथमा रहेको बताउनुभएको छ । पाकिस्तान र अमेरिकाबीचको सम्बन्ध आर्थिक सहयोगमा मात्रै सीमित नरहेको पनि उहाँले बताउनुभएको छ ।

यसैबीच अमेरिकाले पाकिस्तानलाई लडाकु विमान एफ–१६ को सुरक्षा प्रणाली सुधार्न भन्दै ४५ करोड डलर सहयोग गरेपछि भारत अमेरिकासँग चिढिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले सार्वजनिक कार्यक्रममा अमेरिकी सहयोगबारे प्रश्न उठाउनुभएको छ । तर अमेरिकाले भने भारत र पाकिस्तानसँगको सम्बन्ध उत्तिकै महत्त्वपूर्ण रहेको स्पष्ट पारेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले पाकिस्तानका विमानलाई गरिएको सहयोग आतङ्कवादीसँगको लडाइँका लागि मात्रै भएको दाबी गर्दै यसबाट भारत चिढिनुको कुनै कारण नभएको बताउनुभएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू