अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३९ | Colorodo: 08:54

गोपी मैनालीको घाउ आफैलाई दुख्छ

नरेन्द्रराज पौडेल २०७९ जेठ २२ गते १६:४२ मा प्रकाशित

निबन्ध, नियात्रा, कथा र समालोचनाको क्षेत्रमा विगत चार दशकदेखि निरन्तर सक्रिय रहेका गोपी मैनालीले “घाउ आफैलाई दुख्छ” निबन्ध सङ्ग्रह हालै पाठकको बजारमा ल्याएका छन् । प्रस्तुत कृतिको साङ्गोपाङ्ग नियाल्दा निबन्ध विधालाई निर्बन्ध आलेखको रूपमा पुनः स्थापित गरेर देवकोटा पारिजात र लामिछानेको बिँडो थाम्ने उत्तराधिकारी साबित भएका छन् उनी । भीमनिधि तिवारी बदरीनाथ भट्टराईका प्रबन्धनात्मक वृत्तभन्दा निकै नयाँ नक्षत्रको रूपमा टाढै उभिने मैनालीको निबन्धकारिताले वर्तमान युगको प्रतिनिधित्व गर्ने कृतिहरूको चाङमा नयाँ आयाम थपेको छ ।

जुन कुनै विषयको कलात्मक बिम्बविधान र सहज,सरल अभिव्यक्तिकोलागि प्रत्येक निबन्धमा अव्वल साबित भएका छन् उनी । ज्ञान विज्ञान,अर्थ,वाणिज्य,सङ्गीत,कला,धर्म,दर्शन आदि जुन कुनै क्षेत्रमा उनका निबन्ध विस्तारित छन् । प्रतिभा व्युत्पत्ति र अभ्यासको त्रिवेणीको रूपमा रहेको उनको स्रष्टा व्यक्तित्व निरन्तरको अध्ययन लगनशीलता र नवचिन्तनले उजेलिँदै र खारिँदै आएको छ र पूर्ववर्ती रचनाकारितालाई उछिन्दै नयाँ पन र बान्कीमा विकस्वर बनेको छ । कल्पनाका प्रखर वेग र भावात्मक अभिव्यक्तिको आवेगले हिमाली नदी जस्तै सङ्गीतमय प्रवाह लिएर बग्दै गरेको अनुभव हुन्छ उनको निबन्धकला । इष्ट कोकर कविताका कवि टी.एस.इलियटजस्तै गोपी मैनालीलाई पनि प्रचलित शब्दहरूले आफ्नो अनुभूतिको अभीष्ट प्रवाह थेग्न नसकेको अनुभव हुन्छ । अर्को दृष्टिले हाम्रा चलनचल्तीका शब्दहरू बुढा भइसकेकोले नयाँ नयाँ युगीन आविष्कार र चिन्तनहरूलाई बोक्न असमर्थ लाग्दछन् । नयाँ विचार पोख्ने र पुराना विचार थन्क्याउने उनको अभीष्ट पृष्ठ ३४ का पङ्क्तिहरूमा खातैखात लागेर अभिव्यक्त भएका छन् । उनका निबन्धमा बारम्बार प्रकट हुने साथीको प्रेम, रोशी खोला, आमाको माया र बाल्यकालका मिहिन सम्झनाको सग्लो, सङ्लो शव्दचित्रले आफ्नै प्रकारको विशिष्ट हार्दिकता झल्काएको अनुभव हुन्छ ।

तीस ओटा शीर्षकका निबन्धहरूको दुई सय पृष्ठ लामो प्रस्तुत कृति केलाएर हेर्दा “गागरमे सागर” भन्ने हिन्दी उखान चरिचार्थ बनेको पाइन्छ । छुट्टाछुट्टै विषयका यी निबन्धहरू वैचारिक सुस्पष्टता, परिनिष्ठित मिठासपूर्ण भाषा शैलीले बेजोड बनेका छन् । कतै पनि मानव समुदायमा निहित मानसिक विचलन, वैमनस्य,कुण्ठा, निराशाजस्ता सामाजिक विकासका अवरोधहरूलाई लेखकले स्थान दिएका छैनन् बरु बेलाबखत अफैंमाथि आइपरेका दुःख,कष्ट,अन्याय र दबाबहरूलाई छास्तै छिमल्दै दह्रोसँग उभिएर एक सिद्धान्तनिष्ठ,कर्मयोगी व्यक्तित्वको परिचय उभ्याएका छन् । जीवन सङ्घर्षको क्रममा बेलाबखत आइरहने झञ्झावात र आँधिबेहेरीहरूमा दह्रो चालले अडिँदै एक जोधाहा पौरखी पात्रको उदाहरण बनेका छन् निबन्धकार मैनाली । धर्तीको सम्मुनत,समृद्ध भविष्यको अपेक्षामा लेखकको कलम सजग र सक्रिय रूपमा पोखिएको छ । आआफ्ना विषयमा एकपछि अर्को परिपक्व लाग्ने निबन्धहरू “पूर्णात पूर्ण मिदम्”जस्ता सन्दर्भमा सार्थक र चरितार्थ बनेका छन् ।

पढ्दै जाँदा प्रत्येक निबन्धले सिङ्गो पुस्तकको विशालता बोकेका अनुभव हुन्छ । पहिले पाठकलाई विषयवस्तुको गम्भीरताभित्र पस्नै गाह्रो अनि भित्र पसिसकेपछि बाहिर निस्कन झन् गाह्रो पर्ने खालका छन् निबन्धहरू । भाषा शिल्पलाई कलात्मक प्रस्तुतिको मिठाससँग एकाकार गराएर स्वच्छ ,स्वस्थ मनोरञ्जनका अतिरिक्त नवनिर्माणको सन्देशले ओतप्रोत गर्दै लगेको अनुभव हुन्छ । स्रष्टा निबन्धकारको आत्म स्वीकृतिका शब्दहरूले प्रस्तुत निबन्धको विषय, प्रयोजन र उद्देश्यबारे सानो कलेवरभित्र धेरै कुरा बताएका छन् । निर्बन्ध प्रवाहमा मन पुरै पोखिन सक्छ भन्ने विश्वास लिएका लेखक मैनालीले आप्mना उच्छ्वास आक्रोश असहमति र अपेक्षाको चाङलाई कुनै बाहिरी कुण्ठा प्रदर्शन नगरी समथरमा झरेर सलल बग्ने हिमनदीजस्तो शालीन र सुमधुर भाषाशैलीमा प्रवाहित गरेको अनुभव हुन्छ । सङ्ला सलबलाउँदा शब्दहरू मुलायम भाव तरङ्गमा तरङ्गित हुँदै बगेका छन् । मनका अनेकन चेष्टा उच्छ्वासहरूलाई सहजै बहन गर्ने सामर्थ्य राख्छ मैनालीको अभिव्यञ्जनाले । उनको प्रवाहमान परिमार्जित शैली उच्च शिखरको झर्ना र स्याऊ भई रसिलो पोसिलो लाग्छ । दुखेको घाउ पनि वेदनासँगै अक्षरमा पोखिएपछि शीतल शान्त बन्छ । मनको डाहा पनि शब्दको मिठासले समन हुन्छ ।

सानै उमेरदेखि अध्ययन, अध्यवसाय र सकारात्मक चिन्तनमा लागिरहेका गोपी मैनालीले अक्षर र म, जीवन यात्रा, पुस्तकजस्ता निबन्धमा बाल्यकालदेखि वर्तमानसम्मका आरोह अवरोहको हुण्डरीमा आफूलाई बलिया खुट्टा टेकेर उभिने जिराहा पात्रको रूपमा चिनाएका छन् । कतै मातृ प्रेम कतै मित्र प्रेम त कैत अक्षर र शब्द प्रेमलाई आफ्नो अत्यन्त अभीष्ट वस्तुका रूपमा प्रस्तुत गरेका छन् उनले । गहिरो चिन्तन व्यापक अध्ययन र विस्तृत पर्यवेक्षणको कुटुनी क्षमता गोपी मैनालीका विशेषता हुन् । विद्वान समालोचक प्रा.डा.खगेन्द्रप्रसाद लुइटेलको आद्योपान्त शल्यक्रियासहित खारिएको भूमिकाले सुनमा सुगन्ध थपेको पनि पक्कै हो ।

किशोर अवस्थादेखि नै निजामती सेवाका विभिन्न तहमा कार्यरत रहँदै निरन्तर स्वच्छ, क्रियाशील र इमानदार छवि कायम गर्दै सर्वोच्च तहमा पुगेर अवकाश प्राप्त गरेका गोपी मैनालीको कर्मठ व्यक्तित्व नेपालका थोरै मात्र उच्च प्रशासकमा पाइने अनुपम उदाहरण हो । प्रशासनिक सेवाका व्यस्त पदहरूमा रहँदा पनि लेखन क्षेत्रमा निरन्तर सक्रिय रहेर मूल्यवान् रचनाहरू नेपाली साहित्यलाई दिदैरहने उनको विशेषता झनै अनुकरणीय र प्रशंसनीय छ । अस्तु !

प्रतिक्रिया