अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

पशु लोकतन्त्र जिन्दाबाद (रहँदा-बस्दा)

सर्वज्ञ वाग्ले २०७९ जेठ २० गते १०:५८ मा प्रकाशित

पशुपति नाथको पछाडि श्लेष्मान्तक पशुवनमा मनमा आएका कुरा गर्न पशु लोकतन्त्रको विषयक गोष्ठियाँ सम्पूर्ण पशुहरू पराधीन अधीनका साथ पधारिए । बाघले भन्यो “हामी बाघ, भालु, बाँदर, स्याल, ब्वाँसो, हरिण, चित्तल, बनगाई, बनभैसी, हात्ती, जङ्गली बँदेल, खरायो, जँङली बाख्रा, दुम्सी, जङ्गल, ठुला ठुला रुख लहरा, पहरा छहरा, सबै हाम्रा लोकतन्त्रका संवाहक हुन् । त्यहाँभित्र, किरा फट्याङ्ग्रा, चरा, चुरुंगी, साँप, गोमन, धामिन, अजिङ्गर, झारपात पनि छन् । आज हामी पशुहरूको ऐतिहासिक भेला पनि हो । भेला लोकतन्त्रको झेला विषयक ‘पशु लोकतन्त्र’ को गोष्ठी भइरहेको छ । त्यसैले सबै पशुहरूले एकै स्वरमा भन “पशु लोकतन्त्र जिन्दाबाद ! “सबैले भने “पशु लोकतन्त्र ! जिन्दाबाद !! जिन्दाबाद !! जिन्दाबाद !!!

बाघले थप्यो “हामी लोकतन्त्रका सेनानी हौँ । हामीले हाम्रो जङ्गलमा लोकतन्त्र ल्याउन ठुलो बलिदान दिएका छौँ । हाम्रा बाले झन् ठुलो बलिदान दिए । हाम्रो हजुर बाउको त कुरै नगरम् । लोकतन्त्रका सेनानी, लोकतन्त्रका नायक, लोकतन्त्रका लिडर, लोकतन्त्रका बाहक भनेकै बलिया बाङ्गा हुन्छन्, हुन् र ती पनि हामी नै हुम् । नाङ्गा भनेका त रुख हुन्, जङ्गल हुन् जुन जनता जनार्दन जस्ता हुन्छन् । ती जङ्गलका अगाडि जङ्गल राजका कानुन हामीले लागु गर्दा पनि मौन हुन्छन् । लोकतन्त्र मौन हुनु भनेकै समझदार हुनु हो । समझदार हुनु भनेकै लोकतन्त्रको मूल्य र मान्यता बस्नु हो । जङ्गलकै अगाडि हामीले आफ्नो आहारा जङ्गलकै सहारा लिने प्राणीलाई गर्दा पनि ती जङ्गलहरू चुप लागेर आफ्नै स्थानमा उभिई रहन्छन् । कहिलेकाहीँ हावाको झोक्का प्वाक्क हल्लिए पनि हाम्रो सहमति या लोकतन्त्रको सहमति मुन्टो हल्लाइ हल्लाइ जङ्गली पात्रले मानव लोकतन्त्र जात्रा जस्तै सत्ता धर्मको ताली पड्काउँछन् ।“

बिचमा भालुले थप्यो– “यहाँको फुसफुसाइ रहेको छ ? यहाँ कसले कानमा खासखुस गरिरहेको छ ? यस्तो भयो भने लोकतन्त्रको खिल्ली उडाएको जस्तो हुन्छ ! हामी यो हुन कदापि दिन्नौ । हाम्रो धर्म भनेकै लोकतन्त्रलाई जोगाइ राख्नु हो । हामी ताकतवर याने कि बलिया बाङ्गा जनावरहरूले लोकतन्त्रलाई जोगाउनका लागि जुनसुकै हदमा पनि उत्रन सक्छौँ । हाम्रो विरोध गर्ने होइन नि मैले राम्रोसँग भनिरहेको छु फेरि…।”

भालुले पुरै भाषण गर्न नपाउँदै जङ्गली बँदेलले भन्यो– “जसरी हामीले जति खोस्रिए पनि पृथ्वी आमाले शान्त र धैर्य भएर लडी रहन्छिन् । जसरी हामीले जङ्गल रुख, पात, लहरा पहरामा र छहरा जति ठोक्किए पनि दलिए पनि ऊनीहरू लोकतन्त्रको मूल्य र मान्यता धैर्य भएर बसेका छन् त्यसरी नै शान्त र धैर्य भएर बस्नु नै लोकतन्त्रलाई शिरोधार्य गर्नु हो ।”

जङ्गली बँदेलको भाषण पुरा हुन नपाउँदै जङ्गली हात्तीले सुँड तेर्साउँदै भन्यो– “जसरी हामीले जङ्गल जङ्गली राज चलाउँछौँ, त्यसरी नै यो जङ्गली राजलाई लोकतन्त्र हो भन्ने मान्यता बोक्नु । तिमी साना साना जनावरहरू पशु पक्षी, चराचुरुङ्गी, लहरा पहरा, छहरा, डाँडाकाँडा र जङ्गलहरू फाँड्दै र माड्दै हिँड्यौ भने पनि यो लोकतन्त्रको सक्कली रूप हो भन्ने ठान्नु । हामी शक्तिशाली जनावरहरूले, घाँस पात, लहरा, पहरा, छहरामा उत्पादन हुने चिजबिजहरू खाँदै हिँड्यौँ भने पनि यो लोकतन्त्रकै नियम भित्रको रित हो भन्ने ठान्नु । किनभने लोकतन्त्र भनेकै ठुला ठालु तथा शक्तिशाली जनावरहरूको दाइजो हो । उनीहरूले तिमीहरू जस्ता निरीह जनावरहरू तथा पशुपक्षीलाई दिएको वक्सिसनै लोकतन्त्रको प्रसाद मान्नु जसरी मानव जातियाँ पनि राजा महाराजाले दिएर मात्रै लोकतन्त्र जनता जनार्दनले पाउने हुन् । यहाँ पनि हामीले दिएर तिमी निरीह प्राणीले पाउने हौ । तिमीहरू निरीह प्राणीको कामै हाम्रो जय जयकार गर्ने हो । ताली बजाउने र हाम्रो डिनर, ब्रेकफास्ट, लन्चको जिम्मा तिम्रो जीवन उत्सर्ग गर्ने हो । त्यसका लागि हाम्रा लोकतन्त्रका वाहकहरू बाघ, चितुवा, स्याल, ब्वाँसाहरू, अजिङ्गर लगायतका किसिम किसिमका जनवरहरू जङ्गली राज गर्ने पशु लोकतन्त्रका संवाहक छन् । तिमीहरू यो लोकतन्त्र मानव जातिका पुलिस, प्रशासन, विउरोक्याट र नेताका गाडी नाकाबन्दीयाँ पनि जसरी हरेक दिन रबाफका साथ कानुन गाडीमा राखेर कसरी दगुर्छन् ? यो कुरोलाई तिमीहरूले कहिल्यै भुल्नु हुन्न ।”

यसरी हात्तीले बोल्दै गर्दा स्यालले चिच्याएर भन्यो– “हाम्रो जङ्गली लोकतन्त्र पशु लोकतन्त्र भन्ने नाम्मॉ नै कत्रो सान छ ? यहाँ दिन दहाडै साना तथा निरीह पशुहरूले प्रतिक्रिया गर्दैनन् । रुख लहराहरू आफ्नै तालमा नाचिरहन्छन् । चरा चुरुङ्गीहरू आफ्नै भाका गाइरहन्छन् । छहरा पहराहरू तथा ढुङ्गामुडाहरू आफ्नै स्थानमा अडिरहन्छन् । तब न हाम्रो लोकतन्त्रले एउटा ऐतिहासिक समयको कालखण्ड पनि लोकतन्त्र डन्डा अडिग र निर्भीक भएर उभिरहेको छ । त्यसैले जसरी मानव जातिका ठुला ठालु अफिसरका गाडी मन्त्री तथा प्रधान मन्त्री, प्रधान सेनापति, प्रधान न्यायाधीशका गाडी शहराँ लोकतन्त्रको आभास बुझ्न मन्त्रालय तथा सरकारी अफिस र लोकतन्त्रको पोको बोकेर काम सँगै दाम फत्ते गर्न दगुर्छन् । त्यसरी नै हाम्रा बाघराज, हात्तीराजा, ब्वाँसा, भालु अजिङ्गरहरूले पनि निर्धक्कसँग लोकतन्त्रको स्थायित्वका लागि जङ्गल मङ्गल गर्न सवार भइरहन्छन् ।”

स्यालले बोल्दाबोल्दै चितुवाले स्याललाई धम्काएर “चुप लाग” भन्दै आफैँ बोल्न थाल्यो र भन्यो– “हामी पशुको माझ पशु लोकतन्त्रले एउटा ऐतिहासिक कालखण्ड पार गरेर तपाईँ हाम्रो माझ नमात्तिने गरी हाम्रो मन जितिरहेको छ । जसरी मानव समुदायले पनि जनता जनार्दनलाई घरघराँ, टिभी, रेडियो साइकल, मोटर साइकल, गाडी तथा विभिन्न भुलाउने कार्यक्रम ल्याई जुवा तास, सुरा सुन्दरी, रक्सी र रक्सीका भट्टी खोल्ने छुट दिएकै छन्, काम र मामका लागि विदेशै भए पनि खोजिदिएकै छन्, हो त्यसरी नै हाम्रो रुख र जङ्गलले आकाश हेर्दै हावाको झोक्का प्वाक्क लाटो भएर तेर्सिएको झैँ मानव लोकतन्त्रले पनि सबैलाई मस्त बनाइ मनोरञ्जन ध्यानाकर्षण गरेर एक एक गरी ठुला तथा शक्तिशाली महाशयले घुमाइरहेकै छन् । राजा महाराजा,ठुला-वडा कर्मचारी ,अफिसर,नेता पुलिस प्रशासक, मन्त्री प्रधान मन्त्रीले लोकतन्त्र चलाएकै छन् । यो त संसारकै लोकतन्त्रको नियमनै हो ! भने पनि हुन्छ । त्यसैले सबैले एकै स्वरमा भन “पशु लोकतन्त्र जिन्दाबाद !” सबैले एकै स्वरमा भने “पशु लोकतन्त्र जिन्दाबाद ! जिन्दाबाद !! जिन्दाबाद !!!”

RE-POST

प्रतिक्रिया