अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०५ | Colorodo: 04:20

बसाइँसराइ र सहरीकरण डरलाग्दाे रूपमा बढिरहेकाे छ : मन्त्री झाँक्री

बिआरटीनेपाल २०७८ चैत २९ गते ९:१८ मा प्रकाशित

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बसाइँसराइ र सहरीकरण डरलाग्दो रूपमा बढिरहेको बताउनुभएको छ । आज मङ्गलवार मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री झाँक्रीले भन्नुभयो, ‘अहिले हाम्रा लागि बसाइँसराइ र शहरीकरण डरलाग्दो विषय हो । तर यो अवसर पनि हो । अवसरलाई हामीले कसरी सदुपयोग गर्दछौँ भन्ने कुरा पनि आवश्यक छ । २०७८ को तथ्याङ्क हेर्दा पहाडबाट बसाइँसराइ हुने र तराईबाट पनि काठमाण्डाैलगायतका सहरमा बसाइँसराइ गर्ने सम्भावना बढिरहेको छ । तर यसलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा हो । यसलाई अवसरको रूपमा प्रयोग गर्दै हामी अब लामो समयका लागि काम गर्न तयार हुनुपर्छ । हामीले यति सानो गल्लीहरू बनाएका छौँ, टुँडिखेलबाहेक कतै खाली ठाउँ छैन । टुँडिखेलमा पनि नौ फिटका ठूला रेलिङ लाएका छौँ, सर्वसाधारणलाई अनुमति नै छैन । साना साना पार्कहरूमा सार्वजनिक जमिनको यति ठूलो अतिक्रमण र दोहन छ, सार्वजनिक क्षेत्रको अतिक्रमणलाई कसरी रोक्ने ? यो हाम्रा लागि असाध्यै चुनौती छ ।’

कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदनअनुसार नगरपालिकामा बसोवास गर्नेहरूको सङ्ख्या ६६ प्रतिशतको हाराहारीमा भए पनि धेरैजसाे नगरपालिकाहरूमा न्यूनतम आधारभूत पूर्वाधारहरू पुग्न नसकेको बताउनुभयो । उहाँले भर्खरै स्थापना भएका नगरपालिकाहरूको संस्थागत क्षमता अपेक्षित रूपमा विकसित हुन नसकेको पनि बताउनुभयो ।

बहुआयामिक विषयहरू समेटिएको सहरी पूर्वाधार विकासमा संलग्न निकायहरूबीच आपसी समन्वयको अभाव भएको सचिव सिंहकाे भनाइ छ । उहाँले नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा जनाएका प्रतिबद्धतालाई पूरा गर्न नयाँ सहरी नीति, एकीकृत सहरी विकासका लागि सहरी विकास ऐन र मापदण्डहरूको तर्जुमा गर्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू