अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४० | Colorodo: 01:55

९ महिनापछि पुनः काठमाडौं पठाइयो मेलम्चीको पानी

बिआरटीनेपाल २०७८ चैत २९ गते ८:५० मा प्रकाशित

पहिलोपटक पथान्तरण भएको ९ महिनापछि पुनः मेलम्ची नदीको पानी सुरुङमार्फत काठमाडौं पठाइएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मंगलबार अम्बाथान हेडबक्सको १ नम्बर गेटबाट पानी पथान्तरण गरि ३८ नम्बर गेट खोलेर सुरूङमा पानी पठाउनुभएको हो ।पथान्तरण गरिएको पानी १५ देखि १७ दिनमा काठमाडौं पुग्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेलले जानकारी दिनुभयो ।

पानी पथान्तरण कार्यक्रममा खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको काठमाडौं पानी लैजाने सपना पूरा भएको बताउनुभयो । वैशाखमा काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाउने उहाँको भनाइ छ ।बाढीका कारण क्षति भएको हेडबक्सको स्ट्रक्चर उत्खनन् गरिरहेको र उत्खनन् पश्चात क्षतिको यकिन विवरण आउने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेलले जानकारी दिनुभयो ।अहिलेलाई अस्थायी रूपमा पानी पठाउने योजनाअनुसार काम भएको र मेलम्ची खानेपानीलाई दीगो गर्न सबैले हातेमालो गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुबाट पानी काठमाडौं पठाउन हेलम्बुका जनताले सहयोग गरेको बताउनुभयो ।‘यहाँका जनताले पाउनुपर्ने लेबी पाओस् र त्यसबाट पाउने २५ प्रतिशत लेबीले यस क्षेत्रको विकासमा टेवा पुगोस्’, शेर्पाले भन्नुभयो ।बाढीले हेलम्बुको बस्ती तहसनहस बनाएको र स्थानीय तहसँग बस्ती संरक्षण गर्न रकम अभाव रहेकाले संघ सरकारले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । हेलम्बुका जनतालाई पुग्ने पानी छोडेर मात्र काठमाडौं लैजान अध्यक्ष शेर्पाको आग्रह छ ।

गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको थियो । चिनियाँ कम्पनी सिनो हाइड्रोले मर्मत गरेपश्चात् पानी पुन पथान्तरण भएको हो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौं लैजाने घोषणा गरेको थियो । गत वर्षको चैत १७ गतेबाट राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।

सुरूङ परीक्षणका लागि भनि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू