अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३८ | Colorodo: 17:53

‘सुपर–मम’ भनेर चिनिने बघिनीको अन्तिम संस्कार

बिआरटीनेपाल २०७८ माघ ४ गते ६:५१ मा प्रकाशित

भारतमा ‘सुपर–मम’ भनेर चिनिने बघिनी मरेको छ । कलरवाली नामबाट समेत चिनिने बघिनी १७ वर्षको उमेरमा मरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको मध्य प्रदेशमा रहेको पेन्च टाइगर रिजर्भको यो बघिनीले २९ वटा डमरुलाई जन्म दिएकी थिइ । उसको मृत्युपछि वन्यजन्तु प्रेमीले शोक व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनीहरुले शोक सन्देश लेखेका छन् ।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रा, चिकित्सा शिक्षा मन्त्री विश्वास सारङ्गलगायतले श्रद्धाञ्जली दिएका छन् । यो बघिनीको जन्म सन् २००५ मा पेन्च नेशनल पार्कमा भएको थियो । सन् २००८ मा पहिलो पटक उसले बच्चा जन्माएकी थिइ । सन् २००८ देखि सन् २०२१ सम्म आमा बनेकी कलरवालीबाट २९ वटा डमरु जन्मिए ।

२०२१ को जनवरीमा ३ वटा बच्चा जन्माएकी कलरवालीले सन् २०११ मा भने पाँच वटा बच्चा जन्माएकी थिइ । एकै पटक बाघको पाँच वटा बच्चा जन्मिनुलाई दुर्लभ मानिने पेन्च नेशनल पार्कका अधिकारीले बताएका छन् । पेन्च नेशनल पार्कमा सबैभन्दा पहिलो पटक यो बघिनीलाई रेडियो कलर लगाइएको थियो । रेडियो कलरको माध्यमबाट उसको गतिविधि नियाल्ने गरिएको थियो ।

रेडियो कलर जडानपछि उसलाई कलरवाली नामबाट चिनिने गरिएको थियो । बाघको सङ्ख्या वृद्धिमा ठूलो योगदान पुर्याएकी यो बघिनीलाई ‘सुपर–मम’ को ट्याग दिइएको हो । शनिवार मरेकी कलरवालीलाई अन्तिम श्रद्धाञ्जली दिन कयौँ मानिस उपस्थित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू