अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

राइजिङ्ग स्टार कल्चरले गर्‍यो स्रष्टा सम्मान

बिआरटीनेपाल २०७८ पुष ४ गते ७:४१ मा प्रकाशित

काठमाडौँ, राइजिङ्ग स्टार कल्चर ग्रुप,चन्द्रागिरिले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा राजधानीमा शनिवार आयोजित वार्षिकोत्सव समारोहमा सञ्चार,चलचित्र,गीतसङ्गीत तथा खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिलाई ‘राष्ट्रिय स्रष्टा तथा कलाकार सम्मान’ प्रदान गरेको छ । केटिएम जाम डान्स ब्याटलका विजेतालाई पुरस्कृत गरिएको कार्यक्रममा वरिष्ठ चलचित्र पत्रकार लक्ष्मण सुवेदी नगद राशिसहित उत्कृष्ट चलचित्र पत्रकार सम्मानबाट सम्मानित भए ।

विगत दुई दशकदेखि अनवरत रूपमा पत्रकारितामा समर्पित सुवेदीलगायत सम्मानित ब्यक्तित्वहरुलाई कार्यक्रमकी प्रमुख अतिथि बाग्मती प्रदेशकी समाजीक विकास मन्त्री कुमारी मोक्तान,चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी,उपमेयर लिसा नकर्मी,चन्द्रागिरि नगरपालिका वडा नं ७ का अध्यक्ष शम्भुकुमार केसी,बाग्मती प्रदेश सदस्य रमा आले मगर,कार्यक्रम आयोजक संस्थाका अध्यक्ष विक्रम तामाङलगायतले सम्मान पत्र तथा खादा ओढाएर सम्मान प्रकट गरेका थिए । कार्यक्रममा चलचित्र निर्देशक मधुसूदन भट्टराई उत्कृष्ट निर्देशक सम्मान, गायक सुरज पौडेल र नवीनकुमार पौडेललाई उत्कृष्ट गायक सम्मान,बिद्या तिवारीलाई उत्कृष्ट गायिका,तुलसीप्रसाद श्रेष्ठ,भुवनकुमार काफ्ले र विकास चापागाईँलाई उत्कृष्ट कलाकार सम्मान तथा काजीमान श्रेष्ठ र वीरकृष्ण श्रेष्ठलाई खेलाडी सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि मन्त्री मोक्तानले स्रष्टाहरूको सम्मान गर्ने परम्पराले सम्बन्धित क्षेत्रको विकास, सम्बद्र्धन र उत्थानमा टेवा पुर्‍याउने बिचार व्यक्त गर्दै केटिएम ब्याटलका विजेतालाई शुभकामना व्यक्त गरिन् । त्यसै गरी, कार्यक्रम आयोजक राइजिङ स्टार कल्चर ग्रुपका संस्थापक तथा निर्माणाधीन चलचित्र ‘हामी तीन भाइ’ का प्रस्तुतकर्ता साजीत महतले संचारकर्म,चलचित्र,कला संस्कृति तथा खेलकुदको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका स्रष्टाहरूलाई सम्मान गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए । उनले आफ्नो कल्चरले नेपाली कला संस्कृतिको जर्गेनाका लागि हरेक वर्ष स्रष्टाहरूको सम्मानार्थ कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी दिए । आयोजक संस्थाका अध्यक्ष तामाङले आफूहरू सदैव नेपाली कला संस्कृतिको उन्नतिमा कटिबद्ध रहेको औँल्याए ।

प्रतिक्रिया