अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१३ | Colorodo: 11:28

पृथक् बाटो नियाल्दा

दिव्य गिरी २०७८ भदौ ९ गते ६:३८ मा प्रकाशित

पुस्तक समीक्षाः
वर्तमान नेपाली साहित्यिक फाँटमा विशेष गरी सिर्जना र समालोचनाको क्षेत्रमा आफ्नो अलग्गै पहिचानका साथ स्थापित हुनुभएका साहित्यकार युवराज मैनाली विगत चार दशकदेखि लेखन कार्यमा समर्पित र साधनारत हुनुहुन्छ । काभ्रेपलान्चोकको कानपुरमा बि.सं. २०१७ साल चैत्र १० गतेका दिन पिता स्व.केदारनाथ मैनाली र माता स्व.रेवती मैनालीको कोखबाट जन्मनु भएका साहित्यकार एवम् समालोचक युवराज मैनालीका मुर्दा बोल्यो (कथा सङ्ग्रह) २०३७, केही प्रतिभा केही प्रवृत्ति (समालोचना सङ्ग्रह), २०४२, भ्रष्टाचारको भाङ (व्यङ्ग्य–निबन्ध सङ्ग्रह) २०६५, समको पौराणिक नाट्य कौशल (समालोचना सङ्ग्रह) २०६९ र कर्मयोगी देवकोटा महाकाव्यको विश्लेषण (समालोचलना सङ्ग्रह) २०७० नेपाली साहित्यको भण्डारमा प्रस्तुत भैसकेका छन् । साहित्यकार मैनाली जनपद सेवा पदक, दीर्घ सेवा पदक, रसुवा नागरिक सम्मान, युगान्तर वर्ष साहित्य पुरस्कार, बी.डी.त्यागी हीरक जयन्ती सम्मान तथा भैरव प्रतिभा पुरस्कार र सन् २०१९ को अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सर्वोत्कृष्ट कथा पुरस्कारबाट सम्मानित एवम् पुरस्कृत भइसक्नु भएको छ । भानु साहित्यिक मासिक र अभिनव साहित्य समाजको आजीवन सदस्यका साथै सुरभि साहित्य प्रतिष्ठान, सुलेख साहित्यिक मासिक तथा नोबेल साकोस साहित्य प्रतिष्ठानका संरक्षक मैनाली आलेख (साहित्यिक मासिक) का सल्लाहकार हुनुहुन्छ । यिनै साहित्यकार एवम् समालोचक युवराज मैनालीले पछिल्लो समय अर्थात् २०७५ सालमा पृथक् बाटो नामक लघुकथा सङ्ग्रह लिएर पाठक सामु आफूलाई उभ्याउनु भएको छ ।

समालोचना र व्यङ्ग्य निबन्धहरूमा समेत निरन्तर साधनारत साहित्यकार मैनालीले लघुकथा लेखनमा समेत समर्पित भएर लघुकथा सङ्ग्रह प्रकाशित गरी लघुकथाकारहरूको लहरमा उभिन आउनु लघुकथाका पाठकहरूको निम्ति खुसीको विषय हो । वर्तमान समयमा लघु साहित्य लेखनले व्यापकता लिएको छ । जस्तो कि लघुकथा, मुक्तक, गजल, हाइकु र तान्का आदिजस्ता स–साना साहित्यिक रचनाहरूले लेखक र पाठक दुवैको ध्यान आकृष्ट गरिरहेको पाइन्छ । वर्तमान समयमा वरिष्ठ लेखकदेखि कनिष्ठसम्मका लेखकहरू लघु रचना लेखनमा अग्रसर भएका छन् ।

यही परिप्रेक्षमा साहित्यकार एवम् समालोचक मैनालीले प्रकाशित गर्नुभएको पहिलो लघुकथा सङ्ग्रहमा जम्मा २३३ वटा लघुकथा समावेश गर्नुभएको छ । वर्तमान युगिन सामाजिक र राजनैतिक विषय, वर्तमान नेपालको दुर्व्यवस्था, देशमा व्याप्त महँगी, सामाजिक विकृति र विसङ्गति, देशका युवाहरूको विदेश पलायन, वर्तमान राजनैतिक बेथिति, यौनजन्य अपराध र अनैतिक चरित्र तथा क्रियाकलाप, लेखक साहित्यकारहरूको यथार्थता आदि विविध विषय र प्रसङ्गहरूका बारेमा लेखिएका लघुकथाहरू समावेश भएका छन् । यस प्रकार सामाजिक, ऐतिहासिक, सांस्कृतिक, मनोवैज्ञानिक र वैचारिक अनि रहस्यमय आदि विषयका लघुकथाले वर्तमान समयमा हाम्रो देशभित्रका मानिसको जीवनमा घटेका घटनाहरू र समाजमा व्याप्त असन्तुष्ट, अन्याय, अशान्ति र सामाजिक विभेद, विकृतिका साथसाथै राजनैतिक बेथिति, भ्रष्टाचार, कालोबजारी जस्ता अनैतिक कार्यविधिका विषयमा समेत लेखिएका लघुकथामा प्रायः जसो व्यङ्ग्यात्मक चेतना अधिक छन् । ऐतिहासिक र पौराणिक सन्दर्भहरू पनि लघुकथाका विषय बनेर आएका छन् । देशमा पर्याप्त रोजगारीको अवसरबाट वञ्चित हुनुपरेको कारणबाट रोजगारीको निम्ति विदेशतिर पलायन हुन बाध्य युवाहरूको दयनीय अवस्थाको चित्रण गर्नुका साथै युवापुस्ताहरूको उच्छृङ्खलतालाई पनि लघुकथामा स्थान दिइएको छ ।

देशमा झन्डै एघार वर्षसम्म चलेको द्वन्द्वमा मारिएकाहरूको आफन्तका पीडाको वर्णन र अति राजनैतिक बेथितिप्रति व्यङ्ग्य प्रहार गरिएको छ । कथाकार मैनालीको यस लघुकथा सङ्ग्रहमा कथ्य र शिल्प दुबैमा प्रयोगशीलता पाइन्छ । सङ्ग्रहका कुनै कुनै कथाहरू कतै कविता, कतै निबन्ध र कतै नाटक हो कि भन्ने आभास हुन्छ । प्रायजसो लघुकथाहरू प्रतीकात्मक एवम् व्यङ्ग्ययुक्त छन् । लघुकथामा प्रणय भावको संयोग र वियोग, मानवतामा देखिएको ह्रास, नेपालीले निम्न जीवनयापनको क्रममा दैनिक जसो भोग्नु पर्ने कठिनाइ। जटिलता, मानिसमा देखिएको परिवर्तनको चाहना, आफू बाँचेको परिवेशको दुरावस्था, क्रान्तिपछि देशमा आएको परिवर्तनले सृजना गरेका कुण्ठा, असन्तोष, वितृष्णा, भ्रष्टाचारजन्य क्रियाकलाप, बढ्दो असुरक्षा, हत्या हिंसा, आदि विषयहरूले कथाकारको लघुकथा लेखनको क्षमतालाई दर्साउँछ । देशको र जनताका हरेक इच्छा र आकाङ्क्षाहरू वर्तमान अवस्थामा कुन्ठित भइरहेको अवस्थामा प्रस्तुत लघुकथाहरूले जुन सङ्केत गरेका छन् ती सबै सोचनीय र मननीय छन् । लघुकथाकार मैनालीको लघुकथा लेखनको हिसाबले उनका केही कथाहरू कथा लेखनको परम्पराभन्दा पृथक् पनि छन् । केही लघुकथाहरूमा गरिएको प्रयोगशीलताका कारण कथाहरू बुझ्न कठिन पनि हुन्छ । यस प्रकारका कथाहरू रहश्मय जस्ता लाग्छन् ।

खास गरी लघुकथाकार मैनालीका कथाहरूमा हास्यव्यङ्ग्य बढी पाइन्छ । हास्यभन्दा पनि अझ व्यङ्ग्य बढी नै छन् । लघुकथा लेखनमा प्रचिलित कथ्य र शिल्पको परम्पराभन्दा फरक शैलीलाई कथाकारले प्राथमिकता देखिएका छन् । समीक्षक मैनालीको यो लघुकथा सङ्ग्रह पाठक समक्ष बृहत् रूपमा आएको छ । बृहत् यस अर्थमा की आजसम्म प्रकाशित लघुकथा सङ्ग्रहमा यो नै सबैभन्दा धेरै लघुकथाहरूको सिङ्गो सङ्ग्रह हो । कूल २३३ वटा लघुकथाहरू समेटिएको यस लघुकथा सङ्ग्रहमा सबैभन्दा सानो लघुकथा अस्तित्व तीस शब्दमा लेखिएको छ भने ज्यादै थोरै शब्दमा लेखिएका अन्य लघुकथाहरू विज्ञान, परिणति, परिणाम, बाठो, लत, शब्द सत्य, साहस, खोज, चरित्र, ज्ञान, पढाई आदि आदि छन् ।

यस लघुकथा सङ्ग्रहको भूमिकामा त्रिभुवन विश्वविद्यालय प्राध्यापक एवम् समालोचक डा.खगेन्द्रप्रसाद लुइँटेलले मैनालीका लघुकथाका सम्बन्धमा व्याख्या र लघुकथाकै विषयमा पनि विस्तृत उल्लेख गर्नुभएको छ । यसमा रहेको उक्त भूमिकामा लघुकथाका बारेमा पर्याप्त ज्ञान एवम् यथेष्ट जानकारी पाइन्छ । मैनालीका लघुकथाको विषयवस्तुको विविधता र प्रस्तुतिको सरलताको कारण पनि लघुकथा पठन र मनन योग्य छन् । यद्यपि कुनै कुनै लघुकथाहरू बुझ्न निकै सोच मग्न हुनु पर्ने खालका पनि छन् । वास्तवमा देश, समाज व्यक्ति र ऊसँग सम्बन्धित अनेक विषयहरूले लघुकथाको स्वरूप पाएका छन् । यो नै महत्त्वपूर्ण पक्ष हो । लामो समयसम्म समालोचनालाई आफ्नो मुख्य विषय बनाएका साहित्यकार मैनालीले लघुकथाको क्षेत्रमा पनि कलम चलाएर आफूलाई एउटा लघुकथाकारको रूपमा उभ्याउन सफल हुनुभएको छ त्यसको निम्ति उहाँलाई हार्दिक बधाई ।

कृति: पृथक् बाटो (लघुकथा सङ्ग्रह)
कृतिकार: युवराज मैनाली
संस्करण: पहिलो (बि.सं. २०७५)
प्रकाशक: तन्नेरी प्रकाशन, काठमाडौँ

प्रतिक्रिया