अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३६ | Colorodo: 01:51

टुहुरी

रोशन परियार "रोपनि" २०७८ साउन १९ गते १३:४७ मा प्रकाशित

आमा तिम्रो छाती चर्किदा
म बिरामी भएको कुरा
मलाई नै किन सुनायौ ?
आज भोली मेरो छाती सिसा जस्तै चर्किरहन्छ
अब को बिरामी हुन्छ आमा ?

तिम्रो दाहिने आँखा फर्फराउँदा
नराम्रो खबर आउँछ भनेर
मेरो देब्रे कानलाई किन सुनायौ ?
आज भोली मेरा दुबै आँखा दिनरातै फर्फराउँछन्
म अब बौलाउँछु कि मर्छु त आमा ?
कि कसैले पठाउँछ मृत्युको खबर अब ?

चिसो चुल्हो बाट
पाकेकै दाउरा पोल्दा पनि काँचो धुवाँ फैलियो भने
केही अनर्थ हुन्छ भनेर सुनायौ
मैले आर्यघाटमा
भर्भराउँदो आगो दन्केको देखें
र काँचो धुवाँ पाकेको देखें
किन मेरै भाई पाक्यो आमा ?

चुलीगारो भत्कियो भने
शिर ढल्छ भनेर
मलाई किन सुनाई दियौ ?
तुलसीको मठ मुनी
बा लाई सुताएको अन्तिम पल
किन रोकिएन मेरो महिनावारी ??

रातो रंगको सिम्रिक मन पर्छ भन्यौ
पहेंलो रंगको पोते मन पर्छ भन्यौ
कालो रंगको टीका मन पर्छ भन्यौ
हरियो रंगको चुरा मन पर्छ भन्यौ
तर
सेतो रंग चाहिँ मन पर्दैन भनेर किन भनिनौ ??

हरियो बाँस भित्र पनि
तिमीले मन नपराएको सेतो रंग हुदो रहेछ
चोया पनि सेतै
कात्रो पनि सेतै
खरानी पनि सेतै थुप्रिदो रहेछ
ए सेतो घाम
मेरी आमाको रंग
तँ सँग मिल्दो रहेछ
तँलाई चाहि खाल्डोमा पुर्न मिल्दैन ??

प्रतिक्रिया