अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

त्रिवि, सिनासबाट नेपाली भाषामा ‘नेपाल अध्ययन जर्नल’ प्रकाशित

बिआरटीनेपाल २०७८ साउन २ गते ११:५६ मा प्रकाशित

२०७८ साउन १ गते नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) को स्थापना दिवस (वार्षिकोत्सव) को अवसरमा कीर्तिपुरस्थित सिनासकै कार्यालयमा आयोजित भव्य समारोहमा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका वरिष्ठ प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको सम्पादनमा नेपाली भाषामा प्रकाशित ‘नेपाल अध्ययन’ नामक विज्ञसमीक्षित जर्नल विमोचन गरियो । जर्नलका कार्यकारी सम्पादक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्की र राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले संयुक्त रूपमा जर्नलको विमोचन गर्नुभयो ।

सिनासबाट अङ्ग्रेजी भाषामा मात्र जर्नल निकाल्ने गरिएकामा पहिलो पटक नेपाली भाषामा ‘नेपाल अध्ययन जर्नल’ प्रकाशन गरिएको हो । यो नेपाल विषयक नेपाली भाषामा छापिएको पहिलो जर्नल हो । प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलद्वारा सम्पादित पूर्वीय वाङ्मय र नेपाल विषयमा केन्द्रित रहेको विज्ञसमीक्षित अनुसन्धानमूलक यस जर्नलमा पाँचजना विद्वान्का गहन अनुसन्धानमूलक लेख छापिएका छन् । यसमा डा.गोविन्द टण्डनको ‘भगवान् पशुपतिनाथ, पशुपतिनाथमन्दिर र पशुपतिदर्शन’, डा.ऋषिराम रेग्मीको ‘वेदमा रुद्रका स्वरूप’, प्रा. डा. लक्ष्मणप्रसाद गौतमको ‘वैदिक षड्दर्शनका प्रमुख मान्यता’, डा.माधवप्रसाद पाण्डेयको ‘सृष्टि चक्रमा ज्योतिषशास्त्र र नेपालमा त्यसको प्रभाव’ र डा. नारायणप्रसाद गड्तौलाको ‘पूर्वीय मिथकको परम्परा’ शीर्षकका लेखहरू प्रकाशित छन् ।

‘नेपाल अध्ययन जर्नल’ का बारेमा बोल्दै यसका कार्यकारी सम्पादक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले जर्नलको नामकरण, प्रकाशनका विविध सन्दर्भ र कठिनाइबारे चर्चा गर्नुभयो । उहाँले यो जर्नल पूर्वीय वाङ्मय र नेपाल विषयमा केन्द्रित रहेको बताउँदै यो नेपाल अध्ययन विषयक नेपाली भाषामा प्रकाशित पहिलो जर्नल भएकाले यो ऐतिहासिक महत्त्वको कार्य भएको बताउनुभयो । आफूले यो काम नाम र दामका लागि गरेको नभई नेपालमा पश्चिमाभिमुखीकरण बढ्दै गएका वर्तमान सन्दर्भमा नेपाली भाषा र नेपालीपनको जगेर्नाका लागि गरेको बताउनुभयो । वेद, महाभारतजस्ता पूर्वीय वाङ्मयका प्राचीन ग्रन्थ ज्ञान र विज्ञान दुवै दृष्टिले ज्यादै महत्त्वपूर्ण र विशिष्ट रहेको बताउँदै उहाँले यसबारे गहन अध्ययन अनुसन्धान गरी हाम्रो मौलिकता जोगाउनुपर्ने बताउनुभयो । उहाँले कतिपय पश्चिमाहरूले पूर्वबारे गरिएका भनिएका अध्ययन सतही र भ्रामकसमेत रहेको बताउँदै हाम्रो मौलिकता हामी सबै मिलेर आफैँ जोगाउन आग्रह गर्नुभयो । गोरो छाला भएकाले भनेका सामान्य कुरालाई पनि ब्रह्मवाक्य मान्ने कतिपय नेपाली मानसिकताप्रति कटाक्ष गर्दै उहाँले बुद्धि छालामा नभएर मस्तिष्कमा हुने कुरा बताउनुभयो ।

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले सिनासबाट नेपाली भाषामा प्रकाशित यति महत्त्वपूर्ण ऐतिहासिक जर्नल सम्पादनको पूर्ण जिम्मेवारी प्रदान गरेकामा सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीलाई धन्यवाद ज्ञापन गर्नुभयो । कोभिडका कारण लकडाउन भएका बेला पनि अनुसन्धानमूलक यस जर्नलका लागि यथासमयमा लेख रचना उपलब्ध गराउनुहुने लेखकहरूका साथै सम्पादन समूहका सबैलाई धन्यवाद दिनुभयो ।

सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीले पिएचडी भाइवालगायत विभिन्न सन्दर्भमा प्रा.डा.खगेन्द्रप्रसाद लुइटेलको विद्वताबाट प्रभावित भएर आफूले उहाँलाई ‘नेपाल अध्ययन जर्नल’ को सम्पादन गर्ने जिम्मेवारी लिइदिन गरेको आग्रहलाई स्वीकार गरी यस्तो प्रतिकूल अवस्थामा पनि छोटो समयमै जर्नलको सम्पादन गरिदिनुभएकामा प्रा.डा. लुइटेलप्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

यसै गरी सिनासबाट सन् १९८४ मा सुरु भई दस अङ्कसम्म प्रकाशित भएर जनशक्तिको अभावमा प्रकाशन बन्द भएको अङ्ग्रेजी भाषामा प्रकाशित ‘नेपाल जर्नल अफ स्ट्राट्रेजिक स्टडिज’ नामक जर्नल पुनः प्रकाशन सुरु गरेको जानकारी गराउँदै कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीले सिनासका तत्कालीन कार्यकारी निर्देशक कुमार खड्गविक्रम शाहले निर्माण गरेको दृष्टिकोणलाई ब्युँताउने प्रयास गरेको र सिनासलाई नयाँ आयाम दिएको बताउनुभयो । यस जर्नलमा राष्ट्रपति विद्यादेवी भण्डारीको अन्तर्वार्ता तथा नेपाल र चीनको कूटनीतिक सम्बन्धमा आधारित नेपाल–चीनविज्ञ प्राध्यापकका अनुसन्धानात्मक लेखहरू प्रकाशित छन् । नेपालको राष्ट्रपतिको चीन भ्रमण अवलोकन, चीन नीतिबारे अन्तर्वार्ता र चीनका राष्ट्रपति सी चिङपिङको नेपाल भ्रमण र कूटनीतिक सम्बन्धबारे सामग्री समेटिएको सिनासका कार्यकारी निर्देशक डा. कार्कीले बताउनुभयो ।

पहिले सो जर्नलमा पाकिस्तानका राष्ट्रपति जियाउल हकको तथा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीको अन्तर्वार्ता छापिएको कुरो जानकारी दिँदै सिनासले विभिन्न विद्वान्हरूका नयाँ केही पुस्तकको प्रकाशन र पुराना केही पुस्तक पुनर्मुद्रण गरेको कुरा पनि कार्यकारी निर्देशक डा. कार्कीले जानकारी दिनुभयो । अनुसन्धान सुरु गर्ने समयमा कोभिड १९ को महामारीका कारण तिनलाई अगि बढाउन नसिकएको कुरा पनि बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले नेपालको संस्कृति, सभ्यता पश्चिमाभन्दा राम्रो भए पनि पश्चिमाको नक्कल गर्ने प्रवृत्ति बढ्नु दुखद भएको बताउँदै त्रिविका चार वटा अनुसन्धान केन्द्रले गरेका ऐतिहासिक, वैज्ञानिक अध्ययन अनुसन्धानलाई सरकारको नीतिगत निकायले कार्यान्वयन गर्नु जरुरी रहेको बताउँदै पश्चिमाको नक्कल गर्ने प्रवृत्तिलाई हटाएर नेपाली संस्कृति र सभ्यताको प्रवर्द्धन गर्न यी अध्ययन अनुसन्धानबाट प्राप्त तथ्यलाई कार्यान्वयन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले सम्पादन गरेको नेपाल अध्ययन जर्नलको प्रकाशन हुनु महत्त्वपूर्ण रहेको भन्दै यसका सम्पादक, प्रकाशक सबैको प्रशंसा गर्नुभयो ।

डा.ऋषिराम रेग्मीले पशुपतिनाथ रुद्रका बारेमा मन्तव्य राख्नुभएको थियो । कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीको सभापतित्वमा भएको सोही कार्यक्रममा दीर्घ सेवा गरेका कर्मचारी र सेवा निवृत्त प्राध्यापकहरूलाई सम्मान गरिएको थियो । सो कार्यक्रमको सञ्चालन पेशल निरौलाले गर्नुभएको थियो भने स्वागत मन्तव्य ज्ञानेन्द्र खतिवडाले राख्नुभएको थियो ।

सोही अवसरमा सिनास हातामा स्थापना गरिएका शिवलिङ्ग र बुद्ध मूर्तिको पनि अनावरण गरियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू