अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४७ | Colorodo: 22:02

भारतद्धारा कोरोनाको औषधि सार्वजनिक, अक्सिजनका क्षेत्रमा ठूलो राहत पुग्ने रक्षा मन्त्री सिंहको भनाइ

बिआरटीनेपाल २०७८ जेठ ३ गते ७:३४ मा प्रकाशित

भारतले कोरोना भाइरसविरुद्ध तयार पारेको औषधि सार्वजनिक गरेको छ । भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सोमबार एक कार्यक्रमबीच २–डीजी नामक औषधि सार्वजनिक गर्दै कोभिड–१९ का विरामीलाई २–डीजी ग्लूकोज औषधि निकै प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

भारतले कोविड १९ संक्रमित बिरामीको लागि तयार पारेको यो पहिलो औषधि आशाको नयाँ किरण भएको उल्लेख गर्नुभयो । यो औषधिको प्रयोगले विरामी चाँडै निको हुने गरेको जानकारी दिँदै सिंहले अक्सिजनको निर्भरतामा पनि ४० प्रतिशतले कटौति भएको बताउनुभयो ।

उहाँले नियमित सेवामा रहेका कर्मचारीले मात्र महामारी थेग्न नसक्ने भएपछि सेवानिवृत्त भएकाहरुलाई पनि फेरि काममा आह्वान गरिएको बताउनुभयो ।भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) द्वारा बनाइएको यो औषधिलाई भारत सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिए पनि सामान्य प्रयोगका लागि अझै अनुमति पाउन बाँकी छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार पाउडरको रूपमा तयार पारिएको यस औषधिलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा रहेका बिरामीलाई दिइने छ । डीआरडीओ इन्स्टीच्युट अफ न्युक्लियर मेडिसीन एण्ड अलायर साइन्सेजले औषधि बनाउने कम्पनी डक्टर रेड्डीज लेबोरेट्रीजको साथमा मिलेर यो खोप तयार पारेको मन्त्री सिंहले जानकारी दिनुभएको छ ।

यस औषधिले अक्सिजन कमी भएर समस्यामा परेकाहरुलाई राहत दिने जनाइएको छ । पाउडर स्वरुपमा रहेको यस औषधिलाई घोलेर प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू