अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७ | Colorodo: 04:42

चीनद्वारा सगरमाथा आरोहण स्थगित

बिआरटीनेपाल २०७८ जेठ १ गते ७:४० मा प्रकाशित

चीनले उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ । नेपालमा कोरोना संक्रमण बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले आरोहण स्थगित गरेको हो । नेपाली मोहडाबाट चीनमा संक्रमण भित्रिन सक्ने भन्दै आरोहण स्थगित गरिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । शुक्रबार चिनियाँ खेलकुद प्रशासनले सूचना जारी गर्दै आरोहण स्थगित भएको जनाएको हो । चीनमा पछिल्लो समय कोरोना भाइरस नियन्त्रणउन्मुख रहेको छ । बाहिरबाट फेरि कोरोना नभित्रियोस् भनेर उसले निकै सावधानी अपनाएको छ ।

चीनले यस सिजनमा ३८ जनालाई मात्रै सगरमाथा आरोहणको अनुमति दिएको थियो । उनीहरु सबै चिनियाँ नागरिक रहेको समाचार संस्था एपीले जनाएको छ । नेपालले भने यस वर्ष ४ सय ८ जनालाई सगरमाथा आरोहणको अनुमति प्रदान गरेको छ । गत वर्ष कोरोना महामारीका कारण दुवैतर्फबाट आरोहण भएको थिएन ।

सिजनको पहिलो आरोहण बहराइनको टोलीले गरेको थियो । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको १२ जनाको टोली वैशाख २८ गते बिहान सगरमाथाको चुचुरोमा पुगेको थियो ।यसअघि चीनले सगरमाथाको चुचरोमा रेखांकन गरेर नेपालतर्फबाट आरोहीबाट संक्रमण हुनबाट बच्ने बताएको थियो । तर त्यो रेखा कस्तो हुने र कसरी कोर्ने भन्नेबारे भने उसले केही खुलाएको थिएन ।

केही दिनअघि सगरामाथा आधार शिविरमा बिरामी भएर काठमाडौं फर्काइएका केहीमा कोरोना संक्रमण पुष्टि भएको थियो । बीबीसी नेपालीमा प्रकाशित समाचार अनुसार सगरमाथा आधार शिविरबाट उपचारका लागि काठमाडौं फर्काइएका आरोहीमध्ये १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू