अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 16:38

अमेरिकामा १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाईँदै

बिआरटीनेपाल २०७८ वैशाख २२ गते ८:३१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो जुलाई ४ सम्ममा ७० प्रतिशत युवा अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने योजना सार्वजनिक गर्नुभएको छ । यस्तै जतिसक्दो चाँडो १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि खोप दिन सुरु गर्ने योजनामा रहेको राष्ट्रपति बाइडेनले बताउनुभएको छ । अमेरिकी स्वतन्त्रता दिवस सम्ममा देशका १६ करोड युवालाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइ सक्ने नयाँ लक्ष्य बाइडेनले तय गर्नुभएको हो ।

अहिलेसम्म १० करोड ५० लाख अमेरिकीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । अमेरिकामा अहिले दैनिक १० लाख मानिसले खोप लगाइरहेका छन् । तर अहिले खोप लगाउने दर तीन हप्ता पहिले भन्दा आधा घटेको छ । खोपलाई लिएर शंका गरेका तथा खोप अभियानको विरोध गरिरहेकालाई पनि बुझाउने प्रयास भइरहेको बाइडेन प्रशासनले जनाएको छ ।

कोरोना भाइरसविरुद्धको खोप अभियानमा विश्वमै राम्रो गरेको इजरायलमा ६० प्रतिशत भन्दा बढि मानिसले खोपको कम्तीमा एक मात्रा लगाउँदा नै संक्रमण लगभग शून्यमा झरेको छ र त्यहाँ अधिकांश प्रतिबन्धहरु फुकुवा भएका छन् । अबको दुई महिनामा देशको स्वातन्त्रता दिवससँगै कोरोना भाइरसबाट स्वतन्त्र वा मुक्त भएको दिवस मनाउने लक्ष्य रहेको राष्ट्रपति बाइडेनले बताउनुभयो ।

खोप लगाउने केन्द्रहरुबारे जानकारी भएको र खोप लगाउने प्रक्रियालाई सहज बनाउनका लागि बाइडेनले नयाँ वेबसाइटको समेत घोषणा गर्नुभएको छ । यसैबिच अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले १२ वर्षभन्दा माथिकालाई कोरोना भाइरसविरुद्धको फाइजरको खोप प्रयोगका लागि स्वीकृति दिने तयारी गरेको छ । सो स्वीकृति प्रदान भए लगत्तै १२–१५ वर्षसम्मकालाई पनि खोप दिने योजना बाइडेनले बनाउनुभएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू