अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

दिल्लीमा पार्कहरुमा शवदाह गृह निर्माण हुँदै

बिआरटीनेपाल २०७८ वैशाख १४ गते ८:२९ मा प्रकाशित

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमितबाट बढ्दो मृत्यु दरका कारण दाहसंस्कार गर्ने ठाउंको चरम अभाव देखिएको छ । शव जलाउने ठाउँको अभाव भएपछि सार्वजनिक पार्कहरुमा समेत शवदाह गृह निर्माण गर्न थालिएको छ । कोरोना संक्रमणको घातक दोस्रो छालले सबैभन्दा बढी मार खेपिरहेको दिल्लीमा पार्किंङ स्थल, पार्क वा खाली मैदान, दाहसंस्कारको बढ्दो आवश्यकताका लागि खोजी भईरहेको अधिकारीहरुले जनाएका छन् ।

दाहसंस्कारका लागि समेत परिवारजनले घण्टौं कुर्नु पर्ने अबस्था छ । पछिल्लो २४ घण्टामा दिल्लीमा ३ सय ८० जनाको कोरोनाका कारण मृत्यु भएको छ । करिव २ करोड जनसंख्याको रहेको दिल्लीका अस्पतालहरू संक्रमितले भरिएका छन् भने चिकित्सक र अक्सिजनको अभावले मृतकको संख्या बढ्दो छ । यसैबीच भारतमा लगातार छैटौं दिन ३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।पछिल्लो चौबीस घण्टामा ३ लाख २३ हजार १ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

जुन अघिल्लो दिनको तुलनामा ३० हजारले कम हो । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतर २ हजार ७ सय ७१ जनाको कोरोनाका कारण मृत्यु छ ।अहिले भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख ८२ हजारभन्दा बढी छ । नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरूमा पनि संक्रमण बढिरहेको छ ।पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा २६ हजार ७ सय १९ जनामा संक्रमण र २ सय ४९ जनाको मृत्यु भएको छ ।

पश्चिम बंगालमा ९ हजार ७ सय बढीमा संक्रमण र ६८ जनाको मृत्यु भएको छ ।त्यस्तै बिहारमा ९ हजार २ सय २८ जनामा संक्रमण र ६७ जनाको मृत्यु भएको छ ।भारतमा आगामी मे १ देखि १८ वर्ष माथिका सबै उमेर समूहका लागि खोप लगाउने तयारी गरिएको छ । यसबाट संक्रमणको दरमा कमी आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू