अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४६ | Colorodo: 05:01

साउदीमा तीन महिनामा कोमामा पुगेर बाँचेका भूलेजको एनआरएनएको पहलमा उद्धार

बिआरटीनेपाल २०७८ वैशाख १० गते ८:३५ मा प्रकाशित

परिवारको आवश्यकता पूरा गर्ने र छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल ।

तर आफूले साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैर कानुनी रूपमा बस्न बाध्य भए । आफ्नो परिवारमा खुसी ल्याउने इच्छा पालेर साथ साउदी पुगेका भुजेलको जिन्दगीमा नसोचेको बज्रपात पर्‍यो । साथीभाइहरूको सहयोगमा गैर कानुनी हैसियतमा रहेर पनि एक कम्पनीमा सामान्य काम सुरु गरेका भुजेल कामकै क्रममा ठुलो दुर्घटनामा परे । उनी स्थानीय अस्पतालमा साढे दुई वर्षसम्म उपचारका लागि भर्ना भए । त्यस अवधि मध्ये तीन महिनासम्म त भुजेल कोमामा परेका थिए । परदेशमा बेखर्ची रहेका भूजेलेलाई अस्पतालले दुई करोड ५० लाख (८ लाख २३ हजार रिहाद) को बिल थमाई दियो । खान बस्न समेत समस्यामा परेका भुजेल अस्पतालको बिल देखेर छाँगाबाट खसे जस्तै भए ।

बिल तिर्न नसक्ने भएपछि साउदी अरबको रियादस्थित फ्यामेलीकियर अस्पतालले उनी विरुद्ध मुद्दा दायर गरेको थियो । सोही मुद्दाका कारण भुजेलले साउदी अरब छोड्न नपाउने स्थितिमा पुगे । विभिन्न माध्यमबाट उनी नेपाली दूतावास र गैर आवासीय नेपाली सङ्घको सम्पर्कमा आइपुगे । दुई वर्षदेखि नेपाली दूतावासको सेल्टरमा रहेका भुजेलको मुद्दा फिर्ता गराउन नेपाली दूतावासले पहलकदमी लियो । नेपाली दूतावासको विशेष पहलकदमी पछि अस्पतालले भुजेल विरुद्ध अदालतमा रहेको मुद्दा फिर्ता लिइदियो । भुजेलको मुद्दा त फिर्ता भयो तर नेपाल फर्कने कुनै उपाय लागेन । आर्थिक रूपमा निकै कमजोर रहेका भुजेलको सहयोगको लागि नेपाली दूतावास साउदीले गैर आवासीय नेपाली सङ्घलाई आग्रह गर्‍यो र उनको नेपालसम्मको उद्धारको जिम्मेवारी सङ्घले लिएको थियो । सङ्घको कोभिड–१९ राहत तथा उद्धार कार्यक्रम अन्तर्गत उनलाई साउदी देखि विराटनगरसम्म पुग्न आवश्यक हवाई टिकट, काठमाण्डौंमा बस्न तथा खानाको व्यवस्था गरिएको थियो ।

उनको सहयोगार्थ सङ्घले आफ्ना स्वयंसेवकहरू परिचालन समेत गरेको थियो । विराटनगरबाट घरसम्म जानका लागि गाडीको समेत व्यवस्था सङ्घले मिलाएको थियो । गैर आवासीय नेपाली सङ्घले सञ्चालन गरेको वैदेशिक रोजगारीमा रहेका नेपालहरूको उद्धार र पुनर्स्थापना कार्यक्रम अन्तर्गत भुजेलको सम्पूर्ण खर्च व्यहोरेर उनलाई परिवार समक्ष बुझाएको हो । भुजेलको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको छ । वैदेशिक रोजगारीको लागि १ लाख रुपैयाँ चर्को ब्याजमा रिण लिएका भुजेलको ऋण अहिले ब्याजसहित ३ लाख ५० हजार भन्दा बढी नाघी सकेको छ । परिवारसँगको भेट पछि प्रसन्न रहेका भुजेल अब के गर्ने भनेर चिन्तित छन् ।

अहिले उनको ठुलो चिन्ता साहुको ऋण कसरी तिर्ने भन्ने हो । उनी भन्छन्, जसोतसो बाँचेर त आएँ तर अब के गर्ने भन्ने चिन्ता छ । साउदी अरबस्थित नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनको उपचार खर्च मिनाहा गर्ने रियादस्थित फ्यामेलीकियर अस्पताल, स्वदेश प्रीतिको लागि आवश्यक सम्पूर्ण प्रबन्ध गरिदिने गैर आवासीय नेपाली सङ्घ लगायतलाई धन्यवाद ज्ञापन गरेको छ । सङ्घका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा.बद्री के.सीले वैदेशिक रोजगारीमा अलपत्रमा परेका नेपाली श्रमिकहरूलाई राहत तथा उद्धारको काम जारी रहेको बताउनुभयो र उहाँले सङ्घको यस कार्यक्रम अन्तर्गत सेप्टेम्बर २०२० देखि हाल सम्म कोभिड–१९ का कारणले समस्यामा परेका १७,००० भन्दा बढी नेपाली श्रमिहरुलाई राहत तथा उद्धार सम्बन्धी सहयोग पुर्‍याएको कुरा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू