अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

यमनमा जारी युद्ध अन्त्यका लागि साउदीद्वारा शान्तिको प्रस्ताव

बिआरटीनेपाल २०७७ चैत १० गते ७:५९ मा प्रकाशित

साउदी अरेबियाले युद्धविरामका लागि यमनसँग आग्रह गरेको छ । झण्डै छ वर्षदेखि जारी यमनको युद्ध अन्त्यका लागि साउदी अरेबियाले नयाँ शान्ति योजना प्रस्ताव अघि सारेको हो। साउदीले आफू समर्थक यमनको सरकार र इरानको समर्थन रहेको हुथीविद्रोहीबीच संयुक्त राष्ट्रसंघले सुपरीवेक्षण गर्ने गरी युद्धविराम गर्न प्रस्ताव गरेको छ । यो प्रस्तावमा राजनीतिक वार्ता सुरु गर्न र महत्वपूर्ण हवाई तथा जलमार्ग पुनः खोल्ने विषय पनि समेटिएको बीबीसीले जनाएको छ । यमन सरकार र संयुक्त राष्ट्रसंघले साउदीको युद्धविरामको योजनाको स्वागत गरेका छन् ।

तर हुथी विद्रोहीहरूले भने युद्धविरामको प्रस्तावमा नयाँ कुरा नभएको प्रतिक्रिया दिएको छ । हवाई र जलमार्गमा लगाइएको नाकाबन्दी हटाउनुपर्नेमा उसको जोड रहेको छ । हुथीका प्रमुख वार्ताकार मोहम्मद अब्दुसलामले आफूहरूले साउदी, अमेरिका र मध्यस्थकर्ता ओमानसँग शान्ति सम्झौताका लागि निरन्तर कुरा गर्ने बताएको रोयटर्सले उल्लेख गरेको छ ।

साउदी अधिकारीहरूले आफ्नो कदमबारे संयुक्त राष्ट्रसंघ र अमेरिकासँग समन्वय गरिरहेको बताएका छन् । यसअघि गत फेब्रुवरीमा अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन फिर्ता लिने चेतावनी दिनुभएको थियो । छ वर्षभन्दा लामो समयदेखि जारी युद्धमा यमनमा एक लाख १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । लगातारको युद्धका कारण यमनका ८० प्रतिशत भन्दा बढी सर्वसाधारणलाई मानविय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू