अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१० | Colorodo: 21:25

एमाले–माओवादी ब्युँतिएसँगै यी ४६ जना स्वतन्त्र हुने !

बिआरटीनेपाल २०७७ फागुन २४ गते २०:०६ मा प्रकाशित

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचितहरूको भविष्य अन्यौलमा परेका छ ।

नेकपाबाट ४६ जनप्रतिनिधि निर्वाचित भएका छन् । सर्वोच्च अदालत नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रलाई ब्युँताए पनि नेकपाबाट निर्वाचित भएकाहरूको भविष्य के हुने भन्नेबारेमा अन्यौल छ ।

०७६ माघ ९ मा भएको राष्ट्रियसभा निर्वाचनमा १६ जना नेकपाबाट विजयी भएका थिए । नारायणकाजी श्रेष्ठ, वेदुराम भुसाललगायतका नेताहरू राष्ट्रिय सभामा निर्वाचित भएका छन् । ०७६ मंसिर ८ गते कास्की क्षेत्र नम्बर २ सहित प्रदेश र स्थानीय तह गरी ५२ स्थानमा उप–निर्वाचन भएको थियो ।

कास्की क्षेत्र नम्बर २ मा विजयी विद्या भट्टराई नेकपाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । दाङको क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘ख’मा विमलाकुमारी खत्रीले जितेकी छिन् । स्थानीय तहका तीन अध्यक्ष, एक उपाध्यक्ष र २४ वडाध्यक्ष नेकपाबाटै निर्वाचित भएका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा वीरबहादुर कुरुम्बाङ, संखुवासभाको मकालु गाउँपालिकामा तेजबहादुर पोखरेल, महोत्तरीको पिपरा गाउँपालिकामा विक्रम चौधरी अध्यक्ष र हुम्लाको खापुनाथ गाउँपालिकामा रुपा शाही उपाध्यक्षमा निर्वाचित भएका छन् ।

जानकारहरूले नेकपाबाट निर्वाचित सांसद, स्थानीय तहका जनप्रतिनिधिको हैसियत स्वतन्त्र हुने प्रतिक्रिया दिएका छन् । उनीहरूका हकमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २९ आकर्षित हुने बताइएको छ । यो दफाअनुसार कुनै दलको उम्मेदवार नभई स्वतन्त्र रूपमा संघीय संसद् वा प्रदेशसभामा निर्वाचित भएको व्यक्ति कुनै दलको सदस्यता लिएमा निज स्वतः त्यस्तो दलको संसदीय दलको सदस्य हुनेछ ।

राष्ट्रिय सभामा नारायणकाजी श्रेष्ठ, वेदुराम भुसाल, इन्दिरादेवी गौतम, गोपीबहादुर अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, गंगाकुमारी बेलवासे, भगवती न्यौपाने, विमला घिमिरे, जगप्रसाद शर्मा, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँर रहेका छन् ।

प्रतिनिधि सभामा विद्या भट्टराई र प्रदेश सांसदमा विमलाकुमारी खत्री निर्वाचित भएकी छिन् । नेकपाबाट निर्वाचित हुने गाउँपालिकाका अध्यक्षहरूमा तेजबहादुर पोखरेल (मकालु गाउँपालिका, संखुवासभा), वीरबहादुर कुरुम्बाङ (फाल्गुनन्द गाउँपालिका, पाँचथर), विक्रम चौधरी (पिपरा गाउँपालिका, महोत्तरी) र रुपा शाही (खार्पुनाथ गाउँपालिका हुम्ला) रहेका छन् । नेकपाबाट २४ वटा वडामा वडाध्यक्षहरू निर्वाचित भएका छन् । दैनिक नेपाल

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू