अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३२ | Colorodo: 12:47

म्यानमारमा प्रदर्शनकारी माथि सुरक्षा फौजको कारबाही, कम्तीमा ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ फागुन १९ गते ७:२५ मा प्रकाशित

प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा ६ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको छ । म्यान्मारमा १० वर्षसम्मको लोकतन्त्रको अनुभवपछि सेनाले पुनः सत्ता कब्जा गरेको हो ।

म्यान्मारमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्दो छ र बेलायतले शुक्रबारको बैठकमा राष्ट्रसंघ सुरक्षा परिषदको बैठक पनि डाकेको छ । पश्चिमा मुलुकहरुले म्यान्मारका सैनिक नेतृत्वमाथि प्रतिबन्धहरु घोषणा गरेका छन् । अस्पताल स्रोतका अनुसार मध्य म्यान्मारको शहरमा ४ व्यक्तिको गोली लागेर मृत्यु भएको छ । देशको दोस्रो ठूलो शहर मन्डालेमा पनि २ व्यक्तिको गोली लागेर मृत्यु भएको अस्पताल स्रोतले एएफपीलाई बताएको छ ।

एक चिकित्सकले नाम नबताउने शर्तमा मन्डालेमा मारिएका एक व्यक्तिको टाउकामा गोली लागेको बताएका छन् । देशको मिङ्यान शहरको प्रदर्शन पनि निकै हिंसात्मक बनेको थियो । ती चिकित्सकका अनुसार सुरक्षाकर्मीले अश्रुग्यास, रबरको गोली प्रहार गरेका थिए । उक्त घटनामा कम्तीमा १० जना घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू