अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०४ | Colorodo: 00:19

सिरियाको माइनस २० डिग्री तापक्रममा ड्युटी गर्दै नेपाली सेना

बिआरटीनेपाल २०७७ माघ ७ गते ७:३३ मा प्रकाशित

नेपाली सेनाले सिरियाको अत्यन्तै चिसो मौसममा पनि कर्तव्य निर्वाह गरिरहेको छ । संयुक्त राष्ट्र सङ्घको विच्छेदन पर्यवेक्षक बल (यूएनडीओएफ) अन्तर्गत रहेर नेपाली शान्ति सैनिकहरूले मध्यपूर्वी राष्ट्र सिरियाको अति संवेदनशील माउण्ट हर्मनको २० फिटको हिउँ र माइनस २० डिग्री सेल्सियस चिसो कठ्याङ्ग्रिँदो सिरेटोमा पनि ड्युटी निर्वाह गर्दै आइरहेका छन् । यस क्षेत्रको स्वामित्वको विषयलाई लिएर विगत ४६ वर्षदेखि सिरिया र इजरायलबीच विवाद कायम रहेकाले शान्ति सैनिकहरू तैनाथ गरिएका छन् ।

विश्वको सबैभन्दा अग्लो ठाउँमा शान्ति सैनिक तैनाथ भएको माउण्ट हर्मन क्षेत्रमा अहिले पनि ठूलो सङ्ख्यामा विद्युतीय धरापहरू छन् भने द्वन्द्वरत सशस्त्र समूहको चलखेल बढेको नेपाली सेनाले जनाएको छ । झण्डै ६ महिना हिमपात हुने गोलान क्षेत्रमा खटिने नेपाली सैनिकले मुस्ताङ जिल्लाको कैसाङ उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्ध कलासम्बन्धी तालिम प्राप्त गरि हिमपात र विकट भूगोलमा काम गर्न दक्षता प्राप्त गरेका हुन्छन् ।

सन् २०१३ देखि नेपाली शान्ति सैनिकहरू तैनाथ रहेको माउण्ट हर्मन इलाकामा हिँउमा प्रयोग गरिने विशेष किसिमको सवारी साधनहरू पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरी सैनिक कारबाहीहरू सञ्चालन गरिन्छ । नेपाली शान्ति सैनिकको सबैभन्दा ठूलो उपस्थिति रहेको सिरिया मिसनमा नेपाली सेनाको डाक्टर अधिकृतसहितको मेडिकल टिम र आन्तरिक द्वन्द्वको कारण विद्रोहीहरूबाट क्षति पु¥याइएका शान्ति सैनिकहरूको ब्यारेक संरचनाहरू पुनर्निर्माण र ब्यारेक स्थानहरूको सुरक्षा मजबुत बनाउन नेपाली सेनाको इञ्जिनियर टिम पनि कार्यरत छ ।

नेपाली सेनाको कार्यक्षमता, पेसागत दक्षता र विश्वसनीयताको कारण मिसनमा नेपाली शान्ति सैनिकहरूको संयुक्त राष्ट्र सङ्घ तथा सिरियाली सरकारको तर्फबाट प्रशंसा हुँदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू