अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३६ | Colorodo: 22:51

नेपालीद्वारा आरोहणमा नयाँ विश्व कीर्तिमान

बिआरटीनेपाल २०७७ माघ ७ गते ६:४८ मा प्रकाशित

एजेन्सी । दश जनाको नेपाली आरोही टोलीले आरोहणमा नयाँ विश्व कीर्तिमान राखेका छन् । उनीहरूले जाडो मौसममा विश्वको दोस्रो अग्लो हिमाल के टु (२) को पहिलो पटक सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका हुन् ।

समूहका एक सदस्य निम्सदाइ पुर्जाले स्थानीय समय अनुसार आइतबार साँझ ५ बजे ८ हजार ६ सय ११ मिटर अग्लो के टु हिमालको शिखर चुमेको बताए । उक्त शिखरमा पुग्ने उद्देश्य सहित दर्जनौँ आरोही आरोहणमा थिए । आरोहणकै क्रममा एक स्पेनी हिमाल आरोहीको मृत्यु भएको छ ।
पाकिस्तान–चीन सीमामा रहेको काराकोरम हिमश्रंखलाभित्र पर्ने के टु हिमाल सगरमाथाभन्दा करिब २ सय मिटर मात्र होचो छ । यो ८ हजार मिटरभन्दा अग्लो विश्वको १४ मध्ये एक हिमाल हो ।

यो हिमाललाई ‘द सभेज माउन्टेन’ पनि भनेर चिनिन्छ । अमेरिकी आरोही जर्ज बेलले सन् १९५३ मा यो हिमाल आरोहण गर्ने प्रयास गरेका थिए । ‘यो क्रूर (सेभेज) हिमालले तपाईँलाई मार्ने कोसिस गर्छ,’ आरोहणको प्रयत्न पछि उनले भनेका थिए ।

यो हिमालको सबैभन्दा जोखिमयुक्त भनेको यसमा रहेको खोल्सो हो जहाँबाट हिम पहिरो जान्छ । सन् २००८ मा त्यहाँ गएको हिम पहिरोबाट ११ जना आरोहीको मृत्यु भएको थियो ।

आरोहणका क्रममा नेपाली टोली सुरुमा ४ वटा समूहमा विभाजन भएर अघि बढेको थियो । ती ४ समूहमा कूल ६० जना थिए । त्यसमध्ये १० जना पछि एक समूह बने र उनीहरूले उक्त हिमाल आरोहण गरे । बेलायतस्थित स्पेसल बोट सर्भिसका सदस्यसमेत रहेका आरोही निर्मल पुर्जाले सुरुमा फोटो शेयर गरेर आरोहण सफल भएको जानकारी दिएका थिए । आरोहणको औपचारिक रूपमा आयोजक सेभेन समिट ट्रेक्सले पुष्टि गरेको थिए । ‘मानवजातिको इतिहासमा यो ऐतिहासिक घटनाको हिस्सा हुन पाउँदा हामीलाई गर्व लागेको छ,’ पुर्जाले भनेका छन् ।

यो हिमाल आरोहणको पटक पटक प्रयास हुँदै आएको छ । तर, आजसम्म यो हिमालको ७ हजार ६ सय ५० मिटरभन्दा माथि कोही पुग्न सकेको थिए ।

Photo: BBC, NIMSDAI PURJA

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू