अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२६ | Colorodo: 10:41

महामारीमा परदेशमा अलपत्र झण्डै ७ हजार श्रमिकलाई पीएनसीसीको सहयोग

बिआरटीनेपाल २०७७ माघ ६ गते ७:१७ मा प्रकाशित

कोरोना महामारीको कारण परदेशमा समस्यामा परेका झण्डै ७ हजार श्रमिकलाई प्रवासी नेपाली समन्वय समिति पीएनसीसीले सहयोग गरेको छ । २० जनालाई हवाई टिकट र २ सय ८३ जनालाई खाद्यान्न सहयोग उपलब्ध गराएको पीएनसीसीले जनाएको छ । मलेसिया र यूएईमा अस्थायी सेल्टर चलाएर कम्पनीबाट जबर्जस्ती निकालिएका नेपाली श्रमिकलाई आवास सुविधा पनि उपलब्ध गराइएको पीएनसीसीले उल्लेख गरेको छ ।

कोरोना महामारी सुरु भएपछिका पाँच महिनामा मात्रै स्वयमसेवक परिचालन गरी श्रमिकका समस्या समाधानका लागि सहजीकरण गर्ने, अलपत्र परेकालाई आवास, खाद्यान्न तथा स्वदेश फिर्तीका लागि निःशुल्क हवाइ टिकटकोसमेत व्यवस्था गरिएको पीएनसीसीले जनाएको छ ।एनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीका अनुसार यो अवधिमा मात्रै ६ हजार ८ सय २७ जना श्रमिकलाई घर फिर्ती, निःशुल्क हवाई टिकट, अस्थायी सेल्टर तथा खाद्यान्न सहयोग, कानुनी सहयोग, औषधि उपचार लगायतमा सहयोग गरिएको छ ।

खाडीका देश कतार, यूएई र साउदी र मलेसियामा कार्यरत नेपाली श्रमिकले कोरोना महामारीको समयमा भोगेका समस्या समाधानका लागि पीएनसीसीले ३२ जना स्वयमसेवक खटाएको थियो । महामारीको समयमा खटिएका ३२ जना स्वयमसेवकलाई पीएनसीसीले माघ २ गते बिदाई कार्यक्रमसमेत आयोजना गरेको थियो ।

अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको सहयोगमा गएको अगष्टदेखि डिसेम्बरसम्मको ५ महिनाको अवधिमा परिचालित स्वयमसेवकले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, सम्बन्धित देशको नेपाली दूतावास, एनआरएनए र अन्य नेपाली संघसंस्थाहरुको सहकार्यमा कोरोनाबाट प्रभावित नेपाली श्रमिकहरुलाई फारम भर्नेदेखि, जेलबाट निकाली स्वदेश फर्काउने, हवाई टिकट उपलब्ध गराउने, तलब सुबिधा उपलब्ध गराउन सहजीकरण तथा समन्वय गर्ने लगायतको काम गरेकोे पीएनसीसीकी परियोजना संयोजक एकता शर्माले जानकारी दिनुभयो ।

संयोजक शर्माका अनुसार यो अवधिमा मलेसियामा २ हजार ३ सय २२, साउदी अरबमा १ हजार ८ सय ४१, कतारमा १ हजार ४ सय ४० र यूएईमा १ हजार २ सय २४ जनालाई प्रत्यक्ष रुपमा सहजीकरण गरिएको छ । जसमध्ये ६ हजार ३ सय ४६ जना पुरुष श्रमिक र ४ सय ८३ जना महिला महिला श्रमिक रहेका छन् ।

पीएनसीसीले कोरोना प्रभावित नेपाली श्रमिकलाई स्वदेश फिर्तीका लागि मात्र होइन गन्तव्य देशमै पनि काम दिलाउन सहजीकरण गरेको जनाएको छ । गन्तव्य देशमै रहेका स्वयमसेवकले ४ देशबाट १ हजार ७ सय ४९ जनालाई नेपाल फर्कन र २ सय ९६ जनालाई सम्बन्धित देशमै नयाँ काम दिलाउन समन्वय तथा सहजीकरण गरेको परियोजना संयोजक शर्माले जानकारी दिनुभयो ।

यस्तै, २ सय २७ जनाको रोकिएको तलब सम्बन्धित कम्पनीबाट उपलब्ध गराउन समन्वय गरिएको छ भने २७ जना श्रमिकको ओभरटाइम काम गरेको रकमसमेत सम्बन्धित कम्पनीबाट उपलब्ध गराउन समन्वय गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू