अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१४ | Colorodo: 10:29

चीनका ४ सहरमा लकडाउन, महिनौँपछि कोरोना सङ्क्रमण दरमा वृद्धि

बिआरटीनेपाल २०७७ पुष २९ गते ८:१३ मा प्रकाशित

चीनमा पाँच महिनाभन्दा लामो समयपछि एकैदिन सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित देखिएका छन् । योसँगै कोरोनाको अर्काे लहरबाट बच्न चीनले चार वटा सहरमा लकडाउन लागू गरेको छ, परीक्षण बढाएको छ र अरू कदम पनि उठाएको छ ।

थपिएका सङ्क्रमितमध्ये धेरै राजधानी बेइजिङ नजिकका छन् । बुधवार जारी गरिएको आधिकारिक तथ्याङ्कअनुसार उत्तर–पूर्वी चीनको एक प्रान्तमा पनि सङ्क्रमणको दर बढेको देखिएको छ । सङ्क्रमण दर बढेपछि दुई करोड ८० लाख भन्दा धेरै नागरिकलाई होम क्वरेण्टीनमा राखिएको छ ।

नेशनल हेल्थ कमिसनले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘चीनमा एक सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ, एक दिनअघि ५५ जनामा सङ्क्रमण देखिएको छ । गएको ३० जुलाईपछि एकैदिन यति धेरै सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।’कमिसनका अनुसार एक सय सात जनामा समुदायस्तरबाटै सङ्क्रमण भएको छ, ९० जना बेइजिङ नजिकको हिबे प्रान्तका र उत्तर–पूर्वी हेलुंगजंग प्रान्तमा १६ जना छन् ।

हिबेको तीन सहरमा लकडाउन लगाइएको छ । बेइजिङ सहरको प्रशासनले स्क्रिनिङ र सङ्क्रमण फैलिन नदिन कडा कदम चालेको छ । हेलुंगजंग प्रान्तले बुधबार कोभिड–१९ आपत्काल घोषणा गरेको छ । प्रान्तीय राजधानी हार्बिनको सीमा नजिकको सुहुआ सहरले आफ्ना पाँच लाख २० हजार नागरिकका लागि लकडाउन लगाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू