अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 05:30

आगोको वर्णमाला

जीवन खत्री २०७७ पुष २७ गते १३:०६ मा प्रकाशित

मलाई लगेर
अगेनोमा सल्काउनु पर्नेथियो।

अगेनोमा सल्किन पाएको भए
चिसो पन्छाएर, न्यानो छर्ने थिएँ।
भात भान्सामा भूमिका खेल्ने थिएँ।
आउँदै छन् कि कुनै पाहुना?
विश्वासको पुरानो काँधमा बसेर जनाउ दिने थिएँ।

मेरै ओठलाई छोएर सल्कने थियो पानस
जसको उज्याला आँखा मागेर तिमीले
छाडिजाने प्रेमिकाको तस्बिर फेरि हेर्न सक्ने थियौ।
आधा लेखी छाडेको कविता पूरा गर्न सक्ने थियौ।
कहाँ थन्काई राखिएको थियो?
नारायण गोपालको धुन भरिएको क्यासेट,
खोजखाज गरेर एक रुन्को विरह सुन्न सक्ने थियौ।

मैपनि, खुब कुरूप भइसकेथेँ
सल्किँदा सल्किँदा, बाटो दोबाटो र सडकहरूमा।

अगेनोमा सल्किन पाएको भए,
एक हरफ अरू थपिने थिएँ, बाँच्नुको सार्थक कविता।
शङ्कालु आँखाहरूको भित्तामा,
विश्वासको एक कुचो रङ, अरू पोत्न सक्ने थिएँ।

तर के गर्नु?
कुनै देशभक्त नौजवान प्रहरीजस्तो छु आफू
झिकिएको छ आफैँबाट आफ्नो चेतना
र सञ्चालित छु कुनै माथिको आदेशबाट।

पुतलीहरूको पखेटा जला, -हवस् साप।
किताबका पानाहरू जला, -हवस् साप।
फलका हाँगाहरू जला, -हवस् साप।

कहिले त लाग्छ,
कति शानदार हुनेथियो जीवन,
कि कुनै बिरामीको लागि पानी उमाली रहन पाए।
सुत्केरी ढाडको लागि, कोइला जलिरहन पाए।
सल्कनै परे पनि जङ्गलमा,
वनभोजमा रमाइलो पकाई रहन पाए।
वा विचारको मन्दिरमा सल्काइदिन पाए दियो,
अथवा आशाको पूजा कोठामा
सल्काई रहन पाए, अगरबत्ती।

जल्नु, जलाउनु मेरो धर्म
तर, किन उठायौ मेरो गलत फाइदा?
र किन सल्कायौ मलाई फूलहरूको घाँगरमा?
किन जलायौ मलाई? चराहरूका गुँडमा?
यात्रुहरू बोकी हिँडेको बसभित्र
पेट्रोल छर्केर मलाई किन सल्कायौ?

बेउत्तर, जल्दा-जल्दा
बेउत्तर, जलाउँदा-जलाउँदा
धेरैपछि आज, आफ्नै प्रश्नहरूको
अलि भिन्न जवाफ पाएको छु मैले
कि, म तिम्रो छानोमापनि सजिलै उक्लिन सक्ने रहेछु।

प्रतिक्रिया