अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

विदेशमा रोजगारी गुमाएर फर्केकालाई राष्ट्रिय गौरवका आयोजनामा रोजगारी दिनुपर्छ – एनआरएनए

बिआरटीनेपाल २०७७ मंसिर २२ गते ६:४४ मा प्रकाशित

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा जागिर गुमाएर फर्केका श्रमिकहरुलाई राष्ट्रिय गौरवका आयोजनामा आबद्ध गरेर रोजगारी दिनुपर्ने जनाएको छ ।हाम्रो सम्मान परियोजनाको संयोजकत्वमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘कोभिड १९ को सन्दर्भमा गैर आवासीय नेपाली संघको भूमिका’ शीर्षकको भर्चुअल कार्यक्रममा बोल्दै एनआरएनएका उपाध्यक्ष डा. बद्रि केसीले यसबारेमा बताउनुभएको हो ।

नेपालमा विभिन्न राष्ट्रिय गौरवका आयोजना रहेता पनि उक्त आयोजनामा अधिकांश विदेशी श्रमिक भएकाले त्यहाँ नेपाली श्रमिकलाई स्थापित गरी रोजगारी सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ । करिब २८ लाख नेपाली श्रमिक विदेशिएर वार्षिक ८ खर्ब नेपालमा रेमिट्यान्स भित्र्याउँदा करिब ४ खर्ब रकम नेपालबाट विदेशिएकाले सो रकममा नेपाली श्रमिकलाई व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘नेपालका विभिन्न ठूला–ठूला आयोजना तथा राष्ट्रिय गौरवका आयोजनामा अधिकांश विदेशी श्रमिकले खाडी देशमा नेपालीले गरेको जस्तै काम गरेर ४ खर्ब रकम देशबाहिर लगेका छन्,’ उहाँले भन्नुभयो, ‘अब ती आयोजनामा विदेशी श्रमिकको ठाउँमा नेपाली श्रमिकलाई स्थापित गरी रोजगारी सिर्जना गर्नुपर्छ ।’

साथै, विदेशबाट आएका श्रमिकको जुन सीप विदेशमा सिकेर आएको छ, त्यही क्षेत्रमा रोजगारी पाउन निकै कठिन भएकाले सीप पहिचान गरेर लगानी गरी विकास गर्नुपर्ने उहाँले बताउनुभयो । त्यसैगरी, एनआरएनले वैदेशिक रोजगारीबाट फर्केका श्रमिकलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा एनआरएनए, सरकार र अन्य संघसंस्थाहरूसँग समन्वय गरेर आगाडि बढ्नुपर्ने जनाउनुभयो । एनआरएनएले कोरोनाको समयमा विदेशमा अलपत्र परेका र रोजगारी गुमाएका श्रमिकलाई व्यवस्थापन गर्न करिब २५ करोड खर्च भएको पनि उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू