अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

“यो ओबामाको तेस्रो कार्यकाल होइन” जो बाइडेन

बिआरटीनेपाल २०७७ मंसिर १० गते ६:३१ मा प्रकाशित

राष्ट्रपतीय चुनाव जितेपछि जो बाइडेनले आफ्नो पहिलो अन्तर्वार्ता एनबीसीलाई दिनुभएको छ । त्यस अन्तर्वार्तामा बाइडेनले आफू राष्ट्रपति बन्नु ओबामाको तेस्रो कार्यकाल नहुने बताउनुभएको छ । महत्वपूर्ण कुरा त के छ भने ओबामाको सरकारमा जो बाइडेन उपराष्ट्रपति हुनुहुन्थ्यो । बाइडेनले आफ्नो मन्त्रिमण्डलमा जसलाई राख्ने घोषणा गर्नुभएको छ , त्यसमा ओबामा सरकारका कैयौँ अनुहार पनि छन् ।

यस्तो अवस्थामा बाइडेन के ओबामाको तेस्रो कार्यकाल लिएर आइरहेका छन् भनिएको थियो । ओबामा आठ वर्ष अमेरिकाको राष्ट्रपति बन्नुभएको थियो । अमेरिकामा दुई कार्यकालसम्म कुनै एक व्यक्ति राष्ट्रपति बन्न सक्छ । जो बाइडेनलाई एनबीसीका पत्रकार लेस्टर होल्टले ‘के तपाईँको सरकार ओबामाको तेस्रो कार्यकाल हो भनेर सोधेका थिए ?’ यस प्रश्नको उत्तरमा बाइडेनले भन्नुभयोे, ‘यो ओबामाको तेस्रो कार्यकाल होइन । हामी ओबामा–बाइडेन प्रशासनभन्दा छुट्टै दुनियाँको सामना गरिरहेका छौँ । राष्ट्रपति ट्रम्पले पूरै परिदृश्य परिवर्तन गरिदिएका छन् ।हामी अमेरिकालाई एकताको सूत्रमा बाँध्न चाहन्छौँ । हाम्रो सरकारमा प्रतिनिधित्वलाई लिएर विविधता हुनेछ । यहाँ हर वर्गको प्रतिनिधित्व हुनेछ । हामी रिपब्लिकनको नियुक्तिबारे पनि विचार गर्न सक्छौँ ।’

बाइडेनले ओबामाको छायाबाट बाहिर निस्किएर आउँदो चार वर्ष ओमाबाको तेस्रो कार्यकालको महसुस हुन नदिने दाबी गर्नुभएको छ । बाइडेनले आफ्नो सामु पहिलेदेखि नै धेरै चुनौती रहेको पनि बताउनुभयो । बाइडेनको टिममा अझै धेरै अनुहार सहभागी हुँदैछन् । बाइडेनले एनबीसी न्युजसँग अहिले टिमको पूरै ध्यान सत्ता हस्तान्तरणमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयोे, ‘ट्रम्प प्रशासन राष्ट्रिपतिको नियमित ब्रिफिङलाई लिएर पहिलेदेखि नै मद्धत गरिरहेको छ । हामी ह्वाइट हाउसको कोभिड टिमसँग भेटेर आवश्यक कुराकानी गरिरहेका छौँ ।’ आफूले विश्वका २० नेताहरुसँग कुराकानी गरेको र उनीहरु सबै उत्साहित रहेको एनबीसी न्युजसँगको बाईडेनले भन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू