अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५४ | Colorodo: 17:09

विदेशमा थप ५४४ नेपाली कोरोना सङ्क्रमित, थप १ जनाको ज्यान गयो

बिआरटीनेपाल २०७७ कार्तिक २३ गते ६:१८ मा प्रकाशित

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएयता थप दुई देशका नेपालीमा सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अनुसार यो हप्ता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको हो । सङ्घका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार, यो हप्ता विदेशमा रहेका थप एक हजार एक सय ६३ जना नेपाली कोरोनामुक्त भएका छन् भने थप पाँच सय ४४ जनामा सङ्क्रमण देखिएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, विदेशमा ४४ हजार ११३ जना नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेका छन् । तीमध्ये ४० हजार सात सय २८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन् । यो हप्ता स्पेन, नेदरल्यान्ड, चेक रिपब्लिक, डेनमार्क, अष्ट्रिया रहेका नेपालीमा थप कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

गैरआवासीय नेपाली सङ्घका अनुसार, यो हप्ता साउदी अरबमा थप एकजना नेपालीको कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ । सङ्घका अनुसार, विदेशमा १८ देशमा दुई सय ८५ जना नेपालीले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् । यो हप्ता नेपालमा मात्र एक लाख ९१ हजार ६ सय ३६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीमध्ये एक लाख ५५ हजार एक सय १४ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या ८१ प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू