अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

इथियोपियामा युद्धको खतरा बढ्यो, प्रधानमन्त्रीद्वारा सेना परिचालनको आदेश

बिआरटीनेपाल २०७७ कार्तिक १९ गते ६:२९ मा प्रकाशित

अफ्रिकी मुलुक इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बुधबार एउटा प्रादेशिक क्षेत्रमा शान्ति भंग भएको भन्दै कारबाही गर्न संघीय सेनालाई आदेश दिनुभएको छ । टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ)ले गतराति प्रादेशिक राजधानीको एउटा सैनिक अखडामा आक्रमण गरेको प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।सेना परिचालनले अफ्रिकाकै सबैभन्दा बढी जनसंख्या रहेको तथा शक्तिशाली मुलुकमध्ये एक इथियोपियामा फेरि युद्ध सुरु हुने खतरा बढेको छ ।

टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अबियले उत्तरी टिग्रे प्रदेशको राजधानी मिकेले र दान्सा सहरमा विद्रोही समूहले गरेका आक्रमणमा धेरै सैनिकले शाहदत प्राप्त गरेको बताउनुभएको छ ।प्रधानमन्त्री अबियले छिमेकी मुलुक इरिट्रिआसँग जोडिएको इथियोपियाको संवेदनशील क्षेत्रमा सक्रिय विद्रोहीको अन्त्य अवश्यम्भावी रहेको पनि बताउनुभयो ।

इरिट्रिआसँग लामो सीमा संघर्षपश्चात् सन् २०१८ मा दुवै देशबीच शान्ति–सम्झौता भएको थियो । टीपीएलएफले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । प्रधानमन्त्रीको घोषणासँगै टिग्रे क्षेत्रका सबै इन्टरनेट र टेलिफोन लाइन काटिएका छन् । टिग्रे टीभीकाअनुसार टिग्रे क्षेत्रमाथिको आकाश हवाई उडानका लागि निषेध गरिएको छ ।

यहीबीच, इथियोपियासँग इजिप्टको इथियोपियाली बाँध परियोजनालाई लिएर विवाद बढ्दै गएको छ ।इथियोपियाले पछिल्लो समय कोरोनाभाइरस महामारी, घातक जातीय हिंसा र सलहको प्रकोपजस्ता समस्यासँग एकैसाथ जुध्नु परिरहेको छ । कतिपयको भनाइमा अबियको शासनको खास परीक्षण अब हुँदैछ ।टिग्रेका अधिकारीहरुले गत अगष्टका लागि तोकिएको इथियोपियाको राष्ट्रिय आमनिर्वाचन स्थगित गरेकामा आपत्ति जनाएका छन् ।

कोरोनाभाइरस महामारी अझ फैलिने खतरा औंल्याउँदै प्रधानमन्त्री अबियले निर्वाचन स्थगित गर्नुभएको थियो । गत आइतबार विद्रोही समूह टीपीएलएफका एकजना वरिष्ट अधिकारी गाटाचिउ रेडाले आफूहरु संघीय सरकारसँग तत्काल वार्ता गर्न इच्छुक नरहेको बताउनुभएको थियो । उहाँले अहिलेको अवस्थामा राष्ट्रिय संवाद जरुरी भएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू