अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 16:42

कुन प्रभावले फेरियो प्रज्ञाका पूर्व सदस्यसचिवको बोली ?

बिआरटीनेपाल २०७७ कार्तिक १३ गते ९:३० मा प्रकाशित

छिनछिनमा बोली फेर्ने प्राज्ञलाई के भन्ने र खै ?

नेपाली समाजमा हास्यकलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठद्वारा अभिनीत ‘पात्र’ हरिबहादुरका उट्पट्याङपूर्ण कामदेखि आजित भएपछि मदनबहादुरले बोल्ने डाइलग हो, ‘धोका दिनेलाई के भन्ने र खै ?’ धोकाको कुनै औषधी हुँदैन । त्यस्तै आफ्नै बोलीलाई आफ्नो होइन भनी भन्नेको पनि नेपाली समाजमा आजसम्म कुनै ओखती बनेको छैन । त्यस्तो बोली कुनै सामान्य व्यक्तिको फेरिएको होइन । नेपाली साहित्यको धरोहरका रूपमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिवद्वयको बोली फेरिएको हो ।

ट्वान्टीफोर अनलाइन न्युजले प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलमाथि एउटा अनलाइनले लगाएको ‘बौद्धिक चोरी’ को आरोपलाई लिएर नेपाल प्रज्ञा प्रतिष्ठानका तीन जना पूर्व सदस्यसचिवहरू डा. ध्रुवचन्द्र गौतम, डा. तुलसी भट्टराई र सनत रेग्मीलाई टेलिफोनमार्फत उनीहरूको ‘भ्यु’ बुझी उनीहरूको आशयअनुरूपकै ‘प्रज्ञासँग लेखकमाथि छानबिन गर्ने, कारबाही गर्ने अधिकार छैन : पूर्व सदस्यसचिव’ शीर्षकको समाचार ५ कार्तिक २०७७ मा सम्प्रेषण गरेको थियो ।

समाचार हेर्न क्लिक गर्नुहोला

त्यही समाचारलाई आधार मानी सार्वजनिक रूपमा नेपाल सरकारले दसैँ बिदा दिएको समयको मौका छोप्दै प्रज्ञा प्रतिष्ठानसमेत बन्द रहेका बेला प्रतिष्ठानकै आधिकारिक फेसबुक पेजबाट डा. ध्रुवचन्द्र गौतम र डा.तुलसी भट्टराईले आफू अनुकूलको समाचार बनाइयो भनी समाचारको आधिकारिकतामाथि नै प्रश्न उठाएका प्रेस विज्ञप्ति नामक पत्र सामाजिक सञ्जालमार्फत देखिन आए तर आजका मितिसम्म यस अनलाइन पत्रिकाको कार्यालय वा समाचार लेखकसम्म आधिकारिक हिसाबले ती प्राज्ञले न कुनै सम्पर्क गरे न त कुनै खण्डन पत्र नै आए । त्यसो त किन आफूले राखेका कुरामाथि लेखिएको समाचारका विषयमा सम्बन्धित संस्था वा पत्रकारसँग खण्डन गर्ने हिम्मत जुटाएनन् त उनीहरूले प्रश्न उठ्नु स्वाभाविक हो ।

हेर्नुहोस् डा. ध्रुवचन्द्र गौतमद्वारा हस्ताक्षरित सामाजिक सञ्जालमार्फत बाहिरिएको पत्र …

डा. गौतमले ट्वान्टीफोर अनलाइन पत्रिकासँग डा. लुइटेलमाथिको आरोप र प्रज्ञाका क्षेत्राधिकारका विषयमा गरेका कुराकानीका नालीबेली पस्किने जमर्को गरेका छौँ ।

सुन्नुहोस् प्रज्ञाका पूर्व सदस्यसचिव तथा आजीवन सदस्य डा. ध्रुवचन्द्र गौतमसँगको फोन वार्ता…।

यस सम्बन्धमा यसबाहेक पनि प्रशस्तै अनौपचारिक वार्ता र कुराकानीहरू उनीसँग भएका छन् । आवश्यक पर्‍यो भने त्यो पनि बाहिर ल्याइनेछ । त्यसै गरी प्रज्ञा प्रतिष्ठानकै अर्का पूर्व सदस्यसचिव डा. तुलसी भट्टराईले सामाजिक सञ्जालमार्फत नै थरी थरीका लिखित खण्डन बाहिर ल्याएको देखियो । उनले त आफूले नबोलेको र समाचारमै नआएका कुराको समेत खण्डन गरेको पाइयो, जुन समाचारमै उनले भनेको भनी लेखिएका छैनन् ।

हेर्नुहोस् उनले पटक पटक बाहिर ल्याएका फरक फरक पत्रहरू र जाँच्नुहोला उनको रेकर्डसँग

डा. भट्टराईले ट्वान्टीफोर अनलाइन पत्रिकासँग डा. लुइटेलमाथिको आरोप र प्रज्ञाका क्षेत्राधिकार र पुस्तकको पाण्डुलिपि मूल्याङ्कनका विषयमा गरेका कुराकानीका नालीबेली पस्किने जमर्को गरेका छौँ ।

सुन्नुहोस् प्रज्ञाका पूर्व सदस्यसचिव तथा आजीवन सदस्य डा. तुलसी भट्टराईसँगको फोनबार्ता…(रेकर्ड सुन्नका लागि ‘प्ले’ बटम क्लिक गर्नुहोस् ।)

डा. गौतम र डा. भट्टराईले आफैँले बोलेका बोलीका विरुद्धमा आफैले जारी गरेका अर्थहीन प्रेसवक्तव्यका आडमा प्रज्ञा प्रतिष्ठानले साहित्यकार, सर्जक पाठकमाथि सिर्जना गरेर कार्यालय सार्वजनिक बिदा भएपछि छर्न खोजेको भ्रम…

हेर्नुहोस् ।

 

अब, तपाईँ प्रबुद्ध पाठकमा लाग्न सक्ला, प्रज्ञा प्रतिष्ठानको ऐनमा के छ त ‘प्रज्ञा प्रतिष्ठानको काम, कर्तव्य र अधिकार ?’

हेर्नुहोस् ‘नेपाल प्रज्ञा प्रतिष्ठान ऐन – २०६४’ पृष्ठ २ र ३ मा रहेको परिच्छेद १ को ५ नं. प्रज्ञा प्रतिष्ठानको काम, कर्तव्य र अधिकार (जहाँ कुनै पनि लेखकलाई छानबिन गर्ने, कारबाही गर्ने, छानबिन समिति बनाउने विषयमा केही उल्लेख छैन ।):

तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्ने एक स्वतन्त्र पत्रिका, पत्रकार र उसको पत्रकारितामाथि प्रश्न उठाउँदा आफूले नै बोलेका रेकर्डेड कुराहरू खण्डन गर्दै सम्बन्धित सञ्चार माध्यमबाहेकका ठाउँमा सम्प्रेषण गर्नलाई यी ‘दिग्गज र नैतिकवान्’ भनी चिनिँदै आएका साहित्यकारहरूले कुन चरित्र देखाउँदै हस्ताक्षर गरे होला ती पत्रमा ? कुन नैतिकताले दियो यस्तो कार्य गर्न ? र किन विश्वास भएन आफ्नै कुरामा आफैँलाई ? प्रश्न सर्वत्र उब्जिएको छ ।

प्राध्यापक डा. लुइटेल यस लेखकको न आमापट्टिका न त बाबुपट्टिकै नातेदार हुन्, यसर्थ मैले उनीमाथि उनी अनुकूलका समाचार सम्प्रेषण गरिराख्नुपर्ने कारण के ? तर, एउटा कुरा पत्रकारिता र न्यायपालिकाले सदा साँचो, तथ्यपूर्ण र प्रमाणमा आधारित रही कार्य गर्ने हो । सत्ताको प्रतिपक्षको भूमिका निर्वाह गर्ने हो । सत्ताको गुनगान गाउने पत्रकारिता हुँदैन त्यो त चाप्लुसीकारिता हुन्छ । त्यसमा हामी सदा सचेत छौँ । त्यस कारण डा. भट्टराई र डा. गौतमका कुरालाई आफू अनुकूल भन्ने प्रश्नै आउँदैन । यस प्रकारका दुराशयपूर्ण सोचलाई उनीहरूले आफ्नो मस्तिष्कमा कसरी भण्डारण गरे ? किन उनीहरूले आफैँले बोलेका कुराहरू बिर्सिए ? उनीहरूले तथ्य र प्रमाणलाई छायामा पार्ने गरी हस्ताक्षरित पत्र ‘ढोका हुँदाहुँदै झ्याल’ बाट बाहिर ल्याउन कुन प्रभाव, दबाब वा प्रलोभनले काम गर्‍यो ? कि यी प्राज्ञहरूले फेरि प्रज्ञा प्रतिष्ठानमा लाभको पद खान वा कुनै पुरस्कार पाउने गरी ‘ललिपप’ त चाट्न पाएनन् ? प्रश्न गर्ने यथेष्ट ठाउँहरू छन् । ती हस्ताक्षरित पत्रहरू बाहिर ल्याउनुअघि एउटा पत्रकारसँग विषयवस्तुमा आधारित वक्तव्य दिँदा त्यसलाई अनौपचारिक ‘चिया गफ’ पो ठान्ने दुस्साहस गरे कि ? वा प्रज्ञा प्रतिष्ठानमा रहेको सत्तासीन कम्युनिस्ट पार्टीको वर्चस्वले उनीहरूलाई दबाब पो भयो कि ? होइन भने कुन प्रलोभन वा प्रभावले ‘मैले बोलेकै छैन, हुँदै होइन’ भनी आफ्नो वक्तव्य निकाले त ? कि बुढ्यौलीले बिर्सायो उनीहरूलाई आफ्नै बोली ? प्रश्नहरू सर्वत्र उब्जिएका छन् ।

आफूलाई सधैँ निष्ठावान् ठान्ने र नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालासँग लामो सङ्गत रहेको र उनैबाट प्रभावित भएको विभिन्न औपचारिक अनौपचारिक कार्यक्रमहरूमा बताउँदै आएका र त्यही सम्बन्धको आडमा प्रज्ञा प्रतिष्ठानमा सदस्यसचिव र आजीवन सदस्यजस्ता लाभको पद पाएका साहित्यकार डा. तुलसी भट्टराईले के सिके होलान् बिपीबाट ? किन विपीलेझैं आफ्नो बोलीमाथि विश्वास भएन उनमा ? किन वामपन्थी सत्तासँग डराउँदै छन् उनी ? सर्वत्र प्रश्न उठेको छ ।  त्यस्तै काँग्रेसी निकट मानिएका पत्रपत्रिकाहरूमा स्तम्भकारकै रूपमा रहेका प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव र आजीवन सदस्य साहित्यकार डा. गौतम सत्तासीनहरूसँग डराएरै बोली फेरेका हुन् त ? काँग्रेसी वृत्तमा समेत उनका यस्ता ‘लल्लुराम’ प्रवृत्तिको चर्चा चल्न थालेको छ ।

यो समाचार किरण गजुरेलले २४ अनलाईनमा लेखेका छन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू