अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

भव्य बन्यो रानीपोखरी

बिआरटीनेपाल २०७७ कार्तिक ३ गते २०:२१ मा प्रकाशित

काठमाडौँ, कात्तिक ४ गते । पुनर्निर्माण गरिएसँगै ऐतिहासिक सम्पदा मध्येको एक रानीपोखरीको सुन्दरताबारे चर्चा बढ्न थालेको छ । केही महिना अघिसम्म एउटा भग्नावशेष जस्तो देखिने रानीपोखरीको स्वरूप यति बेला कायापलट भएको छ । कञ्चन रानीपोखरीमा दरबार हाइस्कुल, जमल क्षेत्रका उच्च भवनसँगै उत्तर पूर्वमा रहेको घण्टाघरको छवि निकै रमणीय देखिन्छ ।

यस वर्षको तिहारमा रानीपोखरी र बालगोपालेश्वरको मन्दिर नागरिकका लागि खुला गरिने भएको छ । बुधवार यसको औपचारिक उद्घाटन गरिएपछि तिहारमा आम नागरिकका लागि खुला गर्ने निर्णय गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपालप्रसाद अर्यालले जानकारी दिनुभयो ।

अर्यालका अनुसार सोमबार र मङ्गलवार सरसफाइ र सजावटको काम सकिएपछि रानीपोखरी नागरिकका लागि खुला गर्न तयार हुनेछ । रानीपोखरीमा सोमबार दर्जनौँ कामदार यसलाई अन्तिम रूप दिन खटिएका थिए । रेखदेखकर्ता दोर्ची शेर्पाका अनुसार छुटेको रङ्ग रोगन, टालटुलसहित सरसफाइ र बगैँचा सजाउने काम भइरहेको छ । मङ्गलवार देखी सुरक्षाकर्मी तैनाथ हुने गरी व्यवस्थापन गरिएको छ ।

झन्डै एक सय कामदारको समूहले रानीपोखरीलाई थप चम्काउने काम मङ्गलवार साँझसम्म भ्याउनेछन् । गत वर्षको भदौ अघिसम्म भने भक्तपुरबाट आएका सम्पदा निर्माण गर्ने महिला सहितको टोलीले प्रारम्भिक चरणको काम सकेका थिए । पोखरीका डिलमा बनेका प्राचीन इँटामा रङ्ग रोगन र टालटुल गर्न व्यस्त राम श्रेष्ठले चिल्ला, आकर्षक डिलसँगै पर्खालको काम गरिरहेको बताउनुभयो । पहिले आउँदा काम कताबाट सुरु गर्ने जस्तो लागेको थियो, अहिले देख्दा मनै फुरुङ्ग हुन्छ, उहाँ सुनाउनुहुन्छ ।

राजा प्रताप मल्लका पालामा बनेको रानीपोखरीस्थित बालगोपालेश्वरको मन्दिर र आसपासका संरचना त्यही समयको ढाँचामा निर्माण गरिएको हो । ९० सालको भूकम्पमा भत्किएपछि फरक शैलीको मन्दिर बनेको थियो । २०७२ सालको भूकम्पले गर्दा रानीपोखरी भग्नावशेषमा परिणत भएको थियो । अहिले प्राचीन आकारको स्वरूपमा मन्दिर बनाइएको हो । राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको असामयिक निधन भएपछि शोकाकुल

रानीलाई खुसी पार्न वि. सं. १७२७ मा रानीपोखरी निर्माण भएको थियो । चाँदनी हमालले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू