अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 23:25

१२ को परीक्षामा मन्त्रिपरिषद्को सहमति, मङ्सिरको दोस्रो साता जाँच

बिआरटीनेपाल २०७७ कार्तिक ३ गते २०:१५ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा छठ लगत्तै लिने भएको छ । बोर्डको आइतबार साँझ बसेको बैठकले कार्यविधि पारित गरी परीक्षा लिने निर्णय गरेको हो ।

बोर्डले मङ्सिरको दोस्रो साताबाट परीक्षा लिने गरी कार्य तालिका सार्वजनिक गर्ने भएको छ । बोर्डले कक्षा १२ को परीक्षा लिँदा कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कन, १२ को ४० प्रतिशत र १२ बाट प्रयोगात्मक २० प्रतिशतको आधारमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

बोर्डले परीक्षार्थीलाई आफ्नै विद्यालय वा नजिकको विद्यालयमा पुगेर परीक्षा दिन सक्ने व्यवस्था गरेको छ । गएको मन्त्रिपरिषद्को बैठकले विधि, प्रक्रिया र पद्धति पु¥याएर सावधानीका साथ परीक्षा लिन नीतिगत स्वीकृत गरेपछि बोर्डले कार्यविधि तयार गरेको हो ।

‘मन्त्रिपरिषद्ले शिक्षा मन्त्रालयलाई नीतिगत स्वीकृति प्रदान गरे लगत्तै मन्त्रालयले बोर्डलाई परीक्षा व्यवस्थापन र सञ्चालन गर्न निर्देशन दिएको हो।’ –शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

सोही आधारमा बोर्डको बैठकले परीक्षा गर्ने निर्णय गरेको हो । यस वर्षको परीक्षा १ देखि डेढ घण्टाको हुनेछ । बोर्डले ४० प्रतिशत अङ्कको आधारमा नयाँ प्रश्न पत्र तयार गर्नेछ । प्रश्न पत्र ढुवानी गर्न असम्भव भए इमेलमार्फत पठाउने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कुनै विषयमा ८० प्रतिशत प्रयोगात्मक हुने त कतिको २० अङ्कको प्रयोगात्मक परीक्षा हुने भएकाले अङ्कलाई आधार नमानी प्रतिशतको आधारमा परीक्षा लिने निर्णय गरेको स्पष्ट पार्नुभयो ।

उहाँका अनुसार दशैंलगत्तै सम्पूर्ण प्रक्रिया पूरा गरी छठपछि परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । मन्त्रालयले बोर्डलाई कार्यविधि बनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने अधिकार दिए लगत्तै बैठक बसेर परीक्षा गर्ने निर्णय गरेको हो ।

बोर्डका सदस्य सचिव दुर्गा अर्यालले परीक्षा सञ्चालन गर्न स्वास्थ्य मापदण्ड र आचार निर्माण गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो– ‘एक दुई दिनभित्रै कार्य तालिका सार्वजनिक गर्नेछौँ । त्यसपछि परीक्षासम्बन्धी अन्य प्रक्रिया थाल्नेछौँ ।’

यस वर्षको परीक्षामा मूल्याङ्कन प्रणाली (ग्रिड)लाई निष्क्रिय पारिएको छ । अर्थात् यो पाठबाट यति अङ्कको प्रश्न सोध्ने, छोटो र लामो उत्तरको प्रक्रियालगायत सबै व्यवस्था हटाइएको छ ।

शिक्षामन्त्री अध्यक्ष रहेको पाठ्यक्रम मूल्याङ्कन तथा व्यवस्थापन परिषद्को बैठकले यस वर्षका लागि ग्रिड प्रणाली निष्क्रिय गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

ग्रिड हटेपछि बोर्डले ४० प्रतिशत अंकभारको प्रश्न पत्र तयार गर्नेछ । सोही आधारमा परीक्षा हुनेछ । बोर्डको निर्णय लगत्तै परीक्षा सञ्चालन गर्ने प्रक्रिया सुरु भएको छ ।

दशैंलगत्तै सबै विद्यालयमा उत्तर पुस्तिका पु¥याउने, प्रश्न पत्र निर्माणगर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्डअनुसारको परीक्षा मापदण्ड तयार गरी सबै सरोकारवाला निकायसँग छलफल गर्नेलगायतको काम सुरु हुने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा लिखितरुपमै लिने जनाउँदै मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता गराएपछि सोही आधारमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको थियो ।

बोर्डले यस वर्षको परीक्षामा प्रवेश पत्रको आधारमा पायक पर्ने विद्यालयबाट परीक्षा दिन सक्ने व्यवस्था गरेको छ । अध्यक्ष पौडेलले प्रवेश पत्रबिना परीक्षामा उपस्थित हुन नदिने स्पष्ट पार्नुभयो । भन्नुभयो– ‘अति समस्या परेका विद्यार्थीले र विद्यालयको सिफारिसका आधारमा घर पायक केन्द्रबाट परीक्षा दिन मिल्ने व्यवस्था गर्न लागेका हौँ ।’

बोर्डका सबै प्रदेश कार्यालयले सबै विद्यार्थीको कन्ट्याक्ट ट्रेसिङ गरी कुन विद्यार्थी कहाँ छन् भन्ने विषयमा तथ्याङ्क तयार गरिसकेको छ । मन्त्रालयले कोही पनि विद्यार्थीलाई सवारी साधनको सुविधा भएको घर पायक र परीक्षाका लागि डेरा खोज्न नपर्ने स्थानबाट परीक्षा दिने गरी व्यवस्था गर्न निर्देशन दिएको थियो ।

यस वर्ष करिब १ सय १५ विषयमा करिब ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । कोभिड–१९ को कारण वैशाखमा स्थगित परीक्षा ८ महिना ढिलो गरी हुन लागेको हो ।

सदस्यसचिव अर्यालले सबै विधि प्रक्रिया पु¥याएर परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘केन्द्रदेखि आवश्यक पर्ने सबै क्षेत्रमा स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी परीक्षा सञ्चालन गर्नेछौँ ।’ ईश्वरराज ढकालले नेपाल समाचार पत्र दैनिकमा खबर लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू