अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 22:10

काठमाडौं कोरोना हटस्पट : सरकारले हात उठायो, अब भगवान भरोसा !

शम्भु दंगाल २०७७ असोज २३ गते १५:४६ मा प्रकाशित

काठमाडौं । बुधबार र बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनलाइन प्रेस बिफ्रिङमा भनिएको कुरा सुन्नुहोस् । जहाँ उनले ‘कोरोना संक्रमितमा गम्भीर स्वास्थ्य समस्या भएमात्र अस्पताल लैजाऔं’ भनेका छन् ।  उपत्यकामा रहेका आइसोलेसन वार्डहरु संक्रमितले भरिएपछि सरकारले संक्रमितहरुलाई घरमै बसेर उपचार गर्न भन्न थालेको छ ।

गत एकसाताभित्र मात्रै काठमाडौं उपत्यकामा १० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । बिहिबार उपत्यकामा मात्रै २ हजार ५ सय ४० संक्रमित थपिएका छन् । सरकारले गत भदौ मसान्तबाट काठमाडौंमा झन्डै १ महिना जारी गरेको निषेधाज्ञा हटाएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

अहिले देशभर २६ हजार ६ सय ८४ संक्रिय संक्रमित रहेका छन्, जसमध्ये १४ हजार ९ सय ६७ घरमै बसेर उपचार गरिरहेका छन् । अस्पताल तथा अन्य विभिन्न निकायले तयार पारेको आइसोलेसन सेन्टरमा ११ हजार ७ सय १७ संक्रमित छन् ।

फितलो ब्यवस्थापनः  सरकारको आइसोलेसन भरियो 

काठमाडौं उपत्यकाभरी यतिबेला दैनिक साढे २ हजार कोरोना संक्रमित फेला पर्न थालेका छन् । तर सरकारले अस्पतालमा ३ हजार बेड संक्रमितका लागि छुट्याएको छ भने संस्थागत आइसोलेशनमा नाममा विभिन्न सामाजिक संस्था तथा अन्य संस्थाले तयार परेको २ हजार आइसोलेशन बेड संख्या छ । यी बेडहरु पनि यतिबेला संक्रमित बिरामीले भरिइसकेका छन् ।

गत भदौंमा सरकारले गृह मन्त्रालयलाई ५ हजार बेड क्षमताको क्वारेन्टाइन र स्वास्थ्य मन्त्रालयलाई ५ हजार बेड क्षमताको आइसोलेशन सेन्टर तयार पार्ने जिम्मेवारी दिए पनि दुबै मन्त्रालयले पर्याप्त रुपमा तयार पार्न सकेका छैनन् ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार उपत्यकाका अस्पतालमा ३ हजार र संस्थागत रुपमा २ हजार बेडमा कोरोना संक्रमितको उपचार भइरहेको छ । उपत्यकामा बढिरहेको संक्रमणको संख्याअनुसार आइसोलेसन बेडको कमी हुनुका साथै अभाव बढिरहेको छ ।

गत शनिवार नुवाकोटकी तारा मोक्तान र उनको परिवारले आफ्ना बुवा कोरोना संक्रमित भएपछि उपचारका लागि काठमाडौंका धेरै अस्पतालमा उपचारका लागि बेड खाली छ कि भनेर बुझे । धेरै ठाउँमा प्रयास गर्दा कतै पनि नपाएपछि ललितपुरको किष्ट अस्पतालमा बेड पाएपछि उपचारका लागि भर्ना गरे । तर अस्पातलले राम्रोसँग उपचार नगरेको र लापरवाहीका कारण उनको बुवाले बुधबार ज्यान गुमाउनुपरेको मोक्तानको भनाई छ ।

यतिबेला काठमाडौं उपत्यकामा कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा बेड पाउन मुस्किल पर्न थालेको छ । हरेक दिन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम बिरामी गम्भीर नभइ अस्पतालमा उपचारका लागि नलैजान ब्रिफिङ गर्न थालेका छन् । बिहिबार मन्त्रालयको सार्वजनिक गरेको विवरणअनुसार देशभरका १ सय ८१ आइसियु बेडमध्ये ८२ बेड कोरोना संक्रमितले ओगटेका छन् भने  ७६ भेन्टिलेटरमध्ये २७ वटा  कोरोना संक्रमितले ओगटेका छन् ।

स्वास्थ्य अवस्था जटिल भएका बिरामीको उपचारका लागि प्रयोग हुने आइसियु र भेन्टिलेटरको समेत अभाव देखिएका बेला मन्त्रालयका प्रवक्ता गौतम भने पर्याप्त रहेको दावी गर्छन । रातोपाटीसँग कुरा गर्दै गौतमले स्वास्थ्य मन्त्रालयले तयार पारेको आइसोलेन वार्ड संक्रमितका लागि अभाव नभएको दावी गरे ।

निश्क्रिय भए उपत्यकाका नगरपालिका र मेयर
कोरोना संक्रमणको सुरु हुने बेला उपत्यकाका विभिन्न ठाउँमा डिइन्फेक्सन स्प्रे गर्ने, सार्वजनिक स्थानमा हात धुन साबुन पानीको ब्यवस्था गर्ने, यति संख्यामा आइसोलेशन र क्वारेन्टाइन स्थल बनाउँछौं भन्ने नगरपालिकाका मेयर समेत निश्क्रिय बनेका छन् । उपत्यकाका मेयरहरुको समूह मेयर फोरमको पनि अहिले निस्क्रिय भएको छ ।

फोरमका प्रवक्ता समेत रहेका मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ भन्छन्– ‘हामीले बैठक राखेर विज्ञप्ति निकालेर मात्र पनि केही काम हुने हैन । हामीले पहिले भनेकोअनुसार कार्यान्वयन गरेको भए यस्तो हुँदैनथ्यो नै । दशंैअघिसम्म निषेधाज्ञा गर्नुपर्छ भनेर हामीले पहिले पनि भनेका थियौँ । दशैंसम्म १ लाख संक्रमित पुग्छ भनेर त पहिले नै भनेको हो ।’

उनले सरकारले सार्वजनिक यातायात नियन्त्रण, बजार नियन्त्रण गर्न नसक्दा अहिलेको परिणाम आएको बताए । अस्पतालमा भेन्टिलेटरहरु भरिएको र कोरोना संक्रमणदर बढिरहेकोले अझै भयावह हुने मेयर श्रेष्ठ बताउँछन् । मध्यपुर ठिमीमा बनाएका आइसोलेशन सबै भरिएको र संक्रमित बढ्न थालेसँगै सोहीअनुसार थप गर्नुपर्ने अवस्था आएको उनले बताए ।

सरकारले हचुवाको भर निशेधाज्ञा खोलेको भन्दै उनले फेरि निषेधाज्ञा आवश्यक रहेको बताए । उनले भने– ‘हामीले निषेधाज्ञा लगायौं भने कुन अधिकार प्रयोग गरेर लगाइस् भन्छ, हामीले लगाउन मिलेन, संक्रमण बढेपछि विभिन्न शाखाहरु बन्द गर्ने जस्ता काम गरेका छौं । समग्रमा निषेधाज्ञा लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीहरुसँग हुने रहेछ । उहाँहरुले गर्दा हुन्थ्यो । सिडियोले गृहमन्त्रालयको कुरा सुन्ने रहेछ, हामीले भनेको नहुने भएपछि अहिले खासै छलफल भएको छैन ।’

गृह मन्त्रालय भन्छ– हाम्रो काम आइसोलेशन बनाउने हैन 

सरकारले गृह मन्त्रालयलाई उपत्यकामा ५ हजार क्वारेन्टाइन बेड तयार पार्ने जिम्मेवारी दिएपनि ३ जिल्लाबाट ३ हजार हाराहारी तयार भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले रातोपाटीलाई जानकारी दिए । बैदेशिक रोजगारीबाट फर्केकाहरुलाई राख्नका लागि तयार पारिएपनि तिनीहरुको प्रयोग नभएको उनले बताए ।

उनले भने– ‘विदेशबाट नियमित र चार्टर उडानमा आउने मान्छेका लागि तयार गरिएको हो । जति संख्यामा विदेशबाट मान्छे आउँछन् त्यति नै संख्यामा बनाउने भनिएको थियो । करिब ३ हजार संख्यामा बनेको भन्ने रिपोर्ट त छ । तर त्यो क्वारेन्टाइनमा मान्छे छैनन् । विदेशबाट मान्छे आउँदा सबै पीसीआर नेगेटिभ भएका मान्छेहरु आए । उनीहरुलाई होम आइसोलेशनमा बस्न पठाइयो । त्यो भएको क्वारेन्टाइन पनि उपयोग भएको छैन । अहिले ती क्वारेन्टाइन बेडमा मान्छेहरु छैनन् ।’

पीसीआर पोजिटिभ भएका संक्रमतिलाई आइसोलेशनमा राख्नुपर्छ । काठमाडौं आइसोलेसन स्वास्थ्य मन्त्रालयलाई समन्वय गरेर विभिन्न स्थानमा बनाउने जिम्मेवारी दिएको थियो । कतिपय ठाउँमा बनेको छ । कतिपय स्थानको क्वारेन्टाइनलाई आइसोलेसनमा पनि रुपान्तरण गरिएको गृह मन्त्रालयका प्रवक्ता बुढाले बताए । भक्तपुरमा रहेको कृषि विकास बैंकको सभाहलमा बनाईएको क्वारेन्टाइनलाई आइसोलेसन बनाइएको छ ।

उपत्यकामा आइसोलेसन नेपाल सरकारले बनाउने र उपत्यका बाहिर प्रदेश सरकारले आइसोलेन बनाउने निर्णय भएको थियो । आइसोलेशनमा कोरोना संक्रमण भएकाहरुलाई अस्पतालकै सुविधा दिएर स्वास्थ्यकर्मीको निगरानीमा राख्ने निर्णय भएको थियो । तर स्वास्थ्य मन्त्रालयले प्रभावकारी ढंगले आइसोलेशनको व्यवस्था नगरी अहिले संक्रमितलाई पनि घरमै बस्न र जटिल भएमात्र अस्पताल आउन भन्न थालेको छ ।

उपत्यकामा कहाँ–कहाँ छन् प्रयोग नभएका क्वारेन्टाइनस्थल

गत भदौं ३ गतेको मन्त्रिपरिषदको बैठकले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका विभिन्न स्थानमा विदेशबाट आउने नागरिकलाई ५ हजार बेड क्षमताको क्वारेन्टाइन स्थल तयार पार्न मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।   जसमध्ये ३ हजार बेड क्षमताको निर्माण भएको र अधिकांश प्रयोग बिहिन अवस्थामा रहेको गृह मन्त्रालयको भनाई छ ।

काठमाडौंमा राधास्वामी सत्संग सेवा सामाखुसी, कीर्तिपुरको आर्युदवेद अस्पताल, पशुपतिको खाली रहेको धर्मशाला, स्टाफ कलेज जावलाखेल, भक्तपुरको तेलकोट भन्ने स्थानमा छ, सुर्यविनायकको भातेढिकुर भन्ने ठाउँमा रहेको प्लाईउड कारखानामा क्वारेन्टाइन बेड तयार गरिएको छ । यीमध्ये भक्तपुरको कृषि विकास बैंकको सभाहलमा बनाइएको क्वारेन्टाइनस्थललाई आइसोलेसन स्थलको रुपमा प्रयोग गरिएको छ भने अन्य स्थानको क्वारेन्टाइन खाली रहेको छ ।

आवश्यक पर्यो भने भोली ती क्वारेन्टाइनस्थललाई आइसोलेशनमा रुपान्तरण गर्न सकिने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा बताउँछन् । तर स्वास्थ्य मन्त्रालय भने अस्पतालमा उपचार गर्ने बेड भरिएपछि बैकल्पिक उपाय सोच्ने, प्रयोग नभएका क्वारेन्टिनलाई आइशोलन बनाउनेतिर लागेको छैन । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू