अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५१ | Colorodo: 02:06

चिनियाँ राष्ट्रिय दिवस: जनवादी क्रान्तिका योद्धाको सम्झना गरिँदै

बिआरटीनेपाल २०७७ असोज १५ गते १:०२ मा प्रकाशित

जनवादी गणतन्त्र चीनमा आज (बिहीवार) राष्ट्रिय दिवस उत्साहका साथ मनाइँदै छ । हरेक वर्ष अक्टोबर १ तारिखमा मनाइने यस दिवसका अवसरमा चीनभर सार्वजनिक बिदा दिने गरिन्छ ।चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सम्पन्न नयाँ जनवादी क्रान्तिको विजय घोषणा सन् १९४९ अक्टोबर १ तारिखमा प्रसिद्ध तियानमेन चोकमा भएको थियो । यसै ऐतिहासिक घटनाको सम्झना गरी चीनमा अक्टोबर १ तारिखदेखि साताभरि राष्ट्रिय दिवस मनाउने चलन छ । चीनमा यो सातालाई स्वर्णिम सप्ताह भन्ने पनि चलन छ ।

यस दिन चीनभरि र मुख्य गरी प्रसिद्ध शहरहरुमा उत्साहका साथ विभिन्न समारोहहरु आयोजना गरिन्छन् । चीनको राजधानी बेइेजिङस्थित तियानमेन चोकमा राष्ट्रप्रमुख तथा विशिष्ट व्यक्तिबाट झण्डोत्तोलनका साथै सैनिक कवाजको देखाने गरिन्छ ।

दिवसमा राष्ट्रिय योगदान गरेका विभूतिको स्मारकमा फूलमाला चढाई सम्मान अर्पण गरिन्छ । चीन सरकारले यस अवसरमा राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान र सेवा प्रदान गरेका कर्मचारी तथा नागरिकको नाममा मानपद्वी तथा विभूषण प्रदान गर्दै आएको छ । चीन र चिनियाँ जनताका लागि उल्लेखनीय योगदान गरेका चिनियाँ तथा विदेशी मित्रका लागि प्रदान गरिने मानपद्वी तथा विभूषण प्राप्त गर्नेको नामावलीसहित पुस्तकसमेत प्रकाशित गर्ने परम्परा छ ।

सन् १९४९ को अक्टोबर १ तारिखमा यही तियानमेन चोकबाट चीनमा केन्द्रीय जनसरकार घोषणा गरिएको थियो । सोही दिन चिनियाँ जनमुक्ति सेनाले तियानमेन चोकमा आयोजना गरेको प्रथम सैनिक कवाजमा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङले सम्बोधन गर्नुभएको थियो । अध्यक्ष माओले यसै सम्बोधनमार्फत औपचारिक रुपमा चीन जनवादी गणतन्त्र राष्ट्र बनेको र जनवादी गणतन्त्र चीनको केन्द्रीय जनसरकार गठन भएको घोषणा गर्नु भएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सन् १९१४ देखि शुरु भई सन् १९४९ मा सफल भएको जनयुद्धमा लाखौं मानिस मारिएका थिए । ठूलो संख्यामा क्रान्तिकारी योद्धा बेपत्ता भएका थिए । पार्टी अध्यक्ष माओको नेतृत्वमा भएको त्यस जनयुद्धमा शहादत प्राप्त गरेका र बेपत्ता भएका योद्धाको नाममा राजधानी बेजिङमा सन् १९५८ मा युद्ध स्मारक निर्माण गरिएको थियो । चिनियाँ राष्ट्रिय दिवसका अवसरमा ती योद्धाको समेत सम्झना गरी सम्मान अर्पण गर्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू