अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभा शुरु

बिआरटीनेपाल २०७७ असोज २ गते ७:४६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभामा अप्रत्यक्षरूपमा भाग लिने भएको छ । न्युयोर्कमा आजदेखि शुरु भएको ७५औँ महासभालाई प्रधानमन्त्री ओलीले आगामी सोमबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाअन्तर्गतका उच्चस्तरीय सत्रहरु पनि आजैदेखि शुरु भएका छन् ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घ स्थापनाको ७५ औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने उच्चस्तरीय बैठकलाई आगामी सोमबार सम्बोधन गर्नुहुनेछ भने शनिबार ‘२०२० दिगो विकास लक्ष्यका क्षण’ बैठक र यही असोज १४ गते हुने जैविक विविधता सम्मेलनलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आणविक अस्त्रहरुको पूर्ण उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने उच्चस्तरीय बैठकलाई यही असोज १६ गते अप्रत्यक्षरुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।उहाँले अल्पविकसित राष्ट्र र भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरुको मन्त्रिस्तरीय बैठकलाई पनि सम्बोधन गर्नुहुनेछ ।

परम्परागतरुपमा संयुक्त राष्ट्रसङ्घको महासभाकै समयमा हुँदै आएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मन्त्रिपरिषद्को बैठक अप्रत्यक्षरुपमा नेपालले यही असोज ८ गते आयोजना गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू