अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५२ | Colorodo: 15:07

अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपको अन्तिम चरणको परीक्षण रोकियो

बिआरटीनेपाल २०७७ भदौ २४ गते ७:०१ मा प्रकाशित

अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेकासँगको सहकार्यमा बनाएको कोरोना भाइरसविरुद्ध खोपको अन्तिम चरणको मानवीय परीक्षण तत्कालका लागि रोकिएको छ ।बेलायतमा भइरहेको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया (रियाक्सन) देखिएपछि तत्कालका लागि परीक्षण रोकिएको हो ।एस्ट्राजेनेकाले खोप लिएका व्यक्तिमा असामान्य बिमारी देखिएकाले परीक्षण तत्कालका लागि रोखिएको बताएको छ ।

कोरोना भाइरसविरुद्धको खोपको परीक्षण भइरहँदा त्यसको नतिजालाई विश्वले नियालिरहेको छ ।एस्ट्राजेनेका–अक्सफोर्ड विश्वविद्यालय खोपलाई विश्वभर विकास गरिँदै गरेका खोपहरुमध्ये सबैभन्दा आश गरिएको र चाँडो उपलब्ध हुने खोपका रुपमा अपेक्षा गरिएको छ ।मानवीय परीक्षणको पहिलो र दोस्रो चरणमा राम्रो नतिजा आएपछि यो खोपलाई लिएर विश्वभर अपेक्षा बढेको थियो । तर तेस्रो चरणको परीक्षणमा गम्भीर रियाक्सन देखिएको हो । वैज्ञानिकहरुले रियाक्सनको अध्ययन गरिरहेका छन् ।

तेस्रो चरणको परीक्षणमा ३० हजार मानिसको सहभागिता रहेको छ अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा । तेस्रो चरणको परीक्षण ठूलो संख्यामा गरिन्छ र सामान्य अवस्थामा धेरै वर्ष लाग्छ ।तर कोरोना भाइरसविरुद्धको खोप निर्माणका लागि वैज्ञानिकहरुले तीव्र गतिमा काम गरिरहेका छन्।तत्कालका लागि रोकिएको परीक्षण रियाक्सनको कारण थाहा हुने वित्तिकै सुरु हुने निर्माताले बताएका छन् । खोपको परीक्षण रोकिएको सम्बन्धी खबर सबैभन्दा पहिले स्वास्थ्य सम्बन्धी खबर प्रदान गर्ने वेबसाइट स्टाट न्यूजले प्रकाशित गरेको थियो ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने चुनावअघि नै खोप प्रयोगमा ल्याउने बताएका छन् । तर उनको यो टिप्पणीले विज्ञलाई त्रसित बनाएको छ । राष्ट्रपति उम्मेदवार जो बाइडनेले सुरक्षित खोपको विकल्प नरहेको तर ट्रम्पले खोपलाई राजनीतिक स्वार्थ पूर्तिको माध्यम बनाउन खोज्दा सर्वसाधारणको स्वास्थ्य जोखिममा आउने तर्फ सचेत गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू