अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

सुडानमा तीन महिनाका लागि देशव्यापी संकटकाल घोषणा

बिआरटीनेपाल २०७७ भदौ २१ गते ७:४७ मा प्रकाशित

सुडानमा वर्षा र बाढीका कारण ९९ व्यक्तिको मृत्यु भएपछि तीन महिनाको लागि संकटकालको घोषणा गरिउको छ । सुडानी गृहमन्त्रालयले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गरी संकटकाल घोषणा गरेको हो ।सुडानमा प्राकृतिक प्रकोपका कारण ९९ नागरिकको मृत्यु भएको र अन्य कैयौँ वेपत्ता बनेको अवस्थामा तीन महिनाको लागि देशव्यापी सङ्कटकाल घोषणा गरिएको विज्ञप्तीमा जनाइएको हो ।

एक महिनाभन्दा बढी निरन्तर रूपमा भारी वर्षाका कारण आएको बाढीले दर्जनौँ व्यक्तिको मृत्यु भएको र बाढी, डुवान तथा पहिरोका कारण सयौँ घाइते भएका मन्त्रालयले जानकारी गराएको छ ।एक लाखभन्दा बढी घर तथा टहरामा क्षति पुर्याएको उक्त बाढी एक दशक यताकै सबैभन्दा विनाशकारी प्राकृतिक प्रकोप भएको सरकारी समाचार संस्था, सुनाले गृहमन्त्रालयका उच्च पदस्थ अधिकारीलाई उद्धृत गरी लेखेको छ ।

देशको पश्चिमी क्षेत्रमा रहेको डाफर र दक्षिणी सेनार राज्य सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्येका हुन् । सामान्यतया जूनदेखि अक्टुबरसम्म सुडानमा भारी वर्षा हुन्छ जसका कारण देशभरि ठूलो बाढी आउने गर्छ ।ब्लु नाइल क्षेत्रमा एक शताब्दी यताकै उच्च वर्षा भएको र यसका कारण नदी किनारमा रहेका हजारौँ मानिस विस्थापित बनेका सिंचाइ तथा खानेपानी मन्त्रालयले उल्लेख गरेको छ ।

सुडानमा मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र संघको बिहीबार सार्वजनिक अन्तिम रिपोर्ट अनुसार यो बर्ष सुडानमा बाढीका कारण तीन लाख ८० हजारभन्दा बढी मानिस ‘प्रभावित’ भइसकेका उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू