अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५४ | Colorodo: 04:09

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा एनआरएनएको प्रशंसाः‘नेपाली दूतावाससँगको सहकार्य निकै राम्रो’

बिआरटीनेपाल २०७७ भदौ २१ गते ७:४४ मा प्रकाशित

मध्यपूर्वका चार देशमा लागु हुने आईएलओको परियोजना बारे गैरआवासीय नेपाली संघले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग छलफल गरेको छ ।मध्यपुर्वका देशहरुमा रहेका नेपालीहरुको समस्याको बारेमा केन्द्रित भर्चुअल छलफललाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले कोभिड–१९ कारण उत्पन्न असहज परिस्थितिमाझ गैरआवासीय नेपाली संघले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले महामारीका बेला विदेशस्थित गैरआवासीय नेपाली संघ र विदेशस्थित नेपाली दूतावासबीच निकै राम्रो सहकार्य भएको भन्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।विदेशबाट फर्किएका नेपालीहरुलाई नेपालमै उनीहरुको क्षमता र सीपका अनुसार रोजगारीको वातावरण तयार गर्न सरकारले रणनीति बनाइसक्न लागेको र कतिपय योजना समेत बनिसकेको उहाँको भनाई थियो ।

नेपाल फर्केका नेपालीहरुको ज्ञान र सीपको तथ्यांक संकलन गर्ने कार्यमा गैरआवासीय नेपाली संघले सहकार्य गर्न सक्ने मन्त्री ज्ञवालीले बताउनुभयो ।छलफलमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विदेशमा बस्ने नेपालीहरुले राज्य सरह संघप्रति अपेक्षा राख्ने गरेको अनुभव सुनाउँदै सरकारसँग सोही तहको सहकार्यको अपेक्षा राखेको बताउनुभयो ।

संघको साधन र श्रोतले सबै समस्यालाई समाधान गर्न नसक्ने भएको कारणले अन्तर्राष्ट्रिय समूदायसँग सहकार्य सुरु गरिएको जानकारी समेत उहाँले गराउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै वैदैशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीले कोरोना संक्रमणपछि समस्यामा परेका नेपालीहरुको सहयोगको लागि ती देशमा आइएलओसँग सहकार्य गरेर स्वयसेवा तथा कानुनी परामर्श सहितको ५ महिने कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

बैठकमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माले कोभिड –१९ को कहरका बीच संघको आयोजनामा हुने दोस्रो विज्ञ सम्मेलनको बारेमा जानकारी दिनुभयो ।उहाँले विदेशमा स्वास्थ्य क्षेत्रमा सक्रिय नेपाली चिकित्सक एवं विज्ञहरुको सहयोग लिएर अघि बढ्न नेपाल सरकारलाई सुझाव दिनुभयो । संघको सक्रियतामा शुक्रवार सम्पन्न बैठकमा कतार, मलेसिया, युएई र साउदी अरबस्थित नेपाली राजदुतहरु, संघका केन्द्रीय पदाधिकारी, श्रमसहचारी, राष्ट्रिय समितिका अध्यक्षहरु लगायतको उपस्थिति थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू