अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२७ | Colorodo: 18:42

‘कोभिड–१९ को खोपमा हतारो नगरौँ’–डा. एन्थोनी फाउची

बिआरटीनेपाल २०७७ भदौ ९ गते ७:२४ मा प्रकाशित

अमेरिकाका वरिष्ठ भाइरस विज्ञले कोभिड–१९ को खोपमा हतारो गर्न नहुने चेतावनी दिनुभएको छ । खोप सुरक्षित तथा प्रभावकारिता प्रमाणित नभएसम्म हतारो गर्न नहुने डा. एन्थोनी फाउचीले चेतावनी दिनुभयो । त्यस्ता कार्यले खोप विकासको काममा असर गर्ने डा. फाउचीले समाचार संस्था रोयटर्ससँग बताउनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खोपको परीक्षण प्रक्रिया पूरा नभई प्रयोग थाल्ने योजनाको तयारीमा रहेको खबर आइरहेका बेला डा. फाउचीले चेतावनी दिनुभएको हो ।

खोप चाँडै नै प्रयोगमा ल्याएमा आउँदो नोभेम्बरमा हुने चुनावमा निर्वाचित हुने सम्भावना बलियो हुने विश्लेषणसहित ट्रम्पले हतारो गर्न थालेको दाबी गरिन्छ । डेमोक्र्याटहरुले राजनीतिक स्वार्थका लागि ट्रम्पले अमेरिकीको ज्यान जोखिममा पार्ने तयारी गरेको आरोप लगाएका छन् । शनिबार ट्रम्पले ट्वीट मार्फत युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले खोपको परीक्षणका लागि औषधि कम्पनीलाई बाधा पुर्याएकोे आरोप लगाएका थिए।

अहिले विकासको क्रममा रहेका खोपहरु आकश्मिक रुपमा प्रयोगका लागि स्वीकृति प्रदान गर्ने गरी ट्रम्प प्रशासन लागि परेको दाबीसहितको खबर द फाइनान्सियल टाइम्सले प्रकाशित गरेको छ । खोपको परीक्षणका लागि १० हजार मानिस स्वतन्त्र रुपमा तयार भएका छन् । तर खोपले स्वीकृति पाउनका लागि ३० हजार भन्दा बढी मानिसमा परीक्षण गरिएको हुनु पर्छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वमा सबैभन्दा बढी प्रभावित देश अमेरिकामा अहिलेसम्म ५७ लाख ४० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । कोभिड–१९ बाट मृत्यु हुनेको संख्या अमेरिकामा एक लाख ७७ हजार भन्दा बढी रहेको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ । समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजेका प्रमुख डा. फाउचीले परीक्षण नभएका खोपको प्रयोगमा हतारो गर्दा अरु परीक्षणहरुलाई प्रभावित पार्न सक्ने चेतावनी दिनुभएको हो ।

पूर्ण रुपमा परीक्षण नसक्दै खोपको प्रयोगका लागि आपतकालीन स्वीकृति (इयूए) दिन नहुने डा. फाउचीले बताउनुभयो ।खोप सुरक्षित र प्रभावकारी रहेको प्रमाण स्पष्ट रुपमा स्थापित नभएसम्म प्रयोगमा ल्याउनै नहुने डा. फाउचीको भनाई छ । विश्वभर कोरोना भाइरसविरुद्धका खोपहरु निर्माणको क्रममा छन् । त्यसमध्ये अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको खोपलाई प्रमुख मानिएको छ । प्रमुख औषधि उत्पादक कम्पनीहरुले निर्माणाधिन खोपहरुको प्रभावकारिता थाहा पाउनका लागि पछिल्ला हप्ताहरुमा बिस्तारित परीक्षण थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू