बेलायतका पूर्व राजकुमार ह्यारी र मेघन यतिबेला १४ महिने छोरासँग लस एन्जलमा बस्छन् । उनीहरुले दरबार छाडेर हिंडेको विषयले विश्वभर खुल्दुली मच्चाइरहेको छ । उनीहरुले देश र दरबार छाड्नुको कारण बारे अब केही नयाँ तथ्यहरु बाहिर आउने भएका छन् ।
ओमिद स्कोबी र क्यारोलिन डयुरान्डले लेखेको ‘स्वतन्त्रता खोज्ने’ पुस्तकमा उनीहरु बारे केही गोप्य कुराहरु खुलाइएको विदेशी संचारमाध्यमहरुले जनाएका छन् । यही अगष्टमा प्रकाशन हुन लागेको पुस्तकका केही अंशहरु ‘द टाइम्स’ र ‘द सन्डे टाइम्स’ पत्रिकामा प्रकाशन भइरहेका छन् ।
पुस्तकका अंशमा जनाएअनुसार ह्यारीका दाजु विलियम र भाउजु केटसँग उनीहरुको सम्बन्ध मार्चदेखिनै विग्रिएको र बोलचाल समेत बन्द हुने अवस्थामा पुगेको थियो । सन् २०१८ मा विवाह गरेका उनीहरुलाई परिवारभित्रबाट हेर्ने दृष्टिकोणमा फेरबदल आउन थालेको पुस्तकका अंशमा उल्लेख छ ।
विवाहको केही समय पछि मेघनाले केटलाई हेरेर बोल्न खोज्दा वास्तै गर्न छाडेको बताइएको छ । मेघनाले आफ्ना नजिकका साथीहरुसँग परिवारभित्रको बेदनाहरु पोख्ने गरेको बताइएको छ ।
बेलायत रहँदा पनि उहाँले मिडिया र दरबारबाट दिक्क भएको प्रतिक्रिया दिंदै आउनुभएको थियो । एक टेलिभिजन अन्तरवार्तामा त भावुक हुँदै मेघनले आफू ‘जीवीत रहेको’ तर ‘नबाँचेको’ प्रतिक्रिया समेत दिनुभएको थियो ।