अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

अस्ट्रेलियाको मेलवर्नमा डेढ महिनाका लागि लकडाउन घोषणा

बिआरटीनेपाल २०७७ असार २३ गते २२:०७ मा प्रकाशित

अस्ट्रेलियाको मेलबर्नमा डेढ महिनाको लागि तेश्रो तहको लकडाउन घोषणा गरिएको छ । मेलबर्नमा विगत तीन हफ्तादेखि लगातार कोरोना भाइरसको संक्रमण बढ्ने क्रम नरोकिएपछि भिक्टोरिया राज्यका प्रिमियर डेनियल एन्ड्रूजले सो लोकडाउनको घोषणा गरेका गर्नुभएको हो । भिक्टोरिया राज्यले गत मङ्गलबार एक दिनमा हालसम्मकै सबैभन्दा बढी १ सय ९१ जना कोरोना संक्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरेको थियो भने आजै सो राज्यमा १ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् ।

लकडाउन बुधबार जुलाई ८ तारिखको मध्यरातबाट शुरू हुनेछ । यो लकडाउन घोषणासँगै भिक्टोरिया राज्यमा बस्ने करिब ५० लाख मानिसहरू प्रभावित हुने जनाइएको छ । लकडाउनको अवधिमा मेलबर्नबासीहरू केवल खानेकुरा किन्न, आवश्यक परेकाहरूको रेखदेख गर्न, व्यायाम गर्न र स्कुल अथवा काममा मात्र जान र आउन सक्नेछन् । त्यसैगरी रेस्टुरेन्ट र क्याफेहरूले ‘टेक अवे’ अर्थात् किनेर लाने मात्र व्यवस्था गर्न पाउनेछन् ।

यसैबीच, कोरोना संक्रमितको बढ्दो तथ्याङ्कलाई मध्येनजर गर्दै अस्ट्रेलियन सरकारले अस्ट्रेलियाका धेरै जनसङ्ख्या भएका राज्यहरू न्यूसाउथवेल्स र भिक्टोरियाबीचको नाकाहरू बन्द गर्ने घोषणा गरेको छ । बुधबारबाटै लागू गरिने सो बन्दपश्चात् ‘अनुमति–पत्र’ प्राप्त व्यक्तिहरूलाई मात्र सीमा वारपार गर्न दिइने कुरा भिक्टोरिया राज्यका प्रिमियर डेनियल एन्ड्रूजले बताउनुभयो । अनुमति–पत्रका लागि आवेदन दिँदा झुठो विवरण पेश गरिएको खण्डमा ४ हजार अस्ट्रेलियन डलरसम्म जरिवाना तिर्नुपर्ने प्रावधान छ भने भिक्टोरियाबाट न्यूसाउथवेल्स राज्यमा गैरकानूनी तरिकाले छिर्ने मानिसलाई ११ हजार अस्ट्रेलियन डलर जरिवारना देखि ६ महिनासम्म कैद हुन सक्ने प्रावधान रहेको छ ।

अस्ट्रेलियामा हालसम्म ८ हजार ५ सय ६६ कोरोना संक्रमित रहेको सरकारी तथ्याङ्क छ । तीमध्ये ३ हजार २ सय ४४ न्यूसाउथवेल्स, २ हजार ८ सय २४ भिक्टोरियामा, १ हजार ६८ क्वीन्सल्याण्ड, ४ सय ४३ दक्षिण अस्ट्रेलिया, ६ सय २१ पश्चिम अस्ट्रेलिया, २ सय २८ तास्मेनिया, १ सय ८ अस्ट्रेलियन क्यापिटल टेरिटोरी र ३० जना नर्दन टेरिटोरीमा रहेका छन् । कोरोनाका कारण हालसम्म १ सय ६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू