अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५९ | Colorodo: 17:14

यूरोपका नागरिकलाई यस वर्षको अन्त्यसम्ममा कोरोना भाइरसको खोप उपलब्ध गराइने

बिआरटीनेपाल २०७७ जेठ ३१ गते २२:०२ मा प्रकाशित

यूरोपले यस वर्ष अर्थात् सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरसको खोप जनताले प्रयोग गर्न पाउने घोषणा गरेको छ ।यसका लागि गरिएको एक सम्झौतामा यूरोपका लागि मात्र ४० करोड डोज खोप बनाइने जनाइएको छ । कोरोना भाइरसको खोप बनाइरहेको कम्पनी अस्त्राजेनेकासँग उक्त खोप पाउनका लागि जर्मनी, फ्रान्स, इटाली र नेदरल्याण्ड्सको नेतृत्वमा रहेको यूरोपको इन्क्लूसिभ भ्याक्सिन एलायन्सले सम्झौता गरेको छ ।

यस सम्झौताबमोजिम कम्पनीले खोप बनेलगत्तै ४० करोड डोज यूरोपका लागि दिने शनिवार जर्मन सरकारले जनाएको हो । र यो खोप यूरोपेली संघका मुलुकलाई दिइने जनाइएको छ ।औषधि निर्माता कम्पनीले उत्पादन बढाउने प्रयासमा लागिरहेको जनाउँदै यो खोप बिना मुनाफा आपूर्ति गरिने उल्लेख गरेको छ । यस वर्षको अन्तिमसम्ममा खोप उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी पास्कल सोरियोले यदि सबै कुरा ठीक रहेमा यूरोपका करोडौं नागरिकले खोप पाउन सक्ने सुनिश्चित भएको भन्दै गर्मी मौसम सकिने बेलासम्ममा यसबारेमा जानकारी हुने बताउनुभयो । ।खोप बनाउनका लागि तयार पारिएका शुरुवाती तथ्यांकहरुका आधारमा खोप निर्माण परिणाममुखी हुने विश्वास आफूहरुलाई भएको पनि सोरियोको भनाई छ । सबै देशसम्म खोप पुगोस् भन्नका लागि एलायन्सले यूरोपेली कमिशनका साथ काम गर्ने उहाँले बताउनुभयो ।यूरोपीय भ्याक्सिन एलायन्सभन्दा पहिले अमेरिकाले पनि अस्त्राजेनेका साथ सम्झौता गरेको थियो ।

कम्पनीमा १.२ अर्ब डलर लगानी गर्ने जनाउँदै अमेरिकालाई खोप बनेपछि ३० करोड डोज उपलब्ध गराउने सम्झौता भएको थियो ।ब्रिटेनको अक्सफोर्ड यूनिभर्सिटी कोरोना भाइरसको खोप बनाउन काम गरिरहेको छ भने त्यसको लाइसेन्स ब्रिटिश कम्पनी अस्त्राजेनेसँग रहेको छ । यसै वर्षको अप्रिलमा सयौं मानिसमा यस खोपको परीक्षण गरिएको थियो । समाचार संस्था रोयटर्सले औषधि निर्माता कम्पनीलाई खोपको तेस्रो चरणको परीक्षणका लागि अनुमति दिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू