अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२५ | Colorodo: 11:40

कोरोना महामारीका कारण विश्वभर रोजगारी गुमाउनेको संख्या बढ्दो

बिआरटीनेपाल २०७७ जेठ १५ गते २१:४९ मा प्रकाशित

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोभिड–१९ का कारण विश्वभर रोजगारी गुमाउनेको संख्या बढ्दै गएको छ । विश्वभरका अधिकांश कार्यालय, उद्योग, संघसंस्थाहरु बन्द हुन थालेपछि करोडौं मानिस बेरोजगार भएका छन् ।

फ्रान्समा मात्रै गत अप्रिल महिनामा ८ लाख ५ हजारभन्दा बढी मानिसले रोजगारी गुमाएको त्यहाँको रोजगार विभागले जनाएको छ । योसँगै फ्रान्समा रोजगारी गुमाउनेको संख्या वृद्धि भएर ४५ लाख नाघेको छ ।

यस्तै कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा गत साता मात्रै २१ लाख नागरिकले रोजगारी भत्ताका लागि आवेदन दर्ता गराएका छन् । गत मार्च महिनाबाट अमेरिकामा सुरु भएको कोरोना संकटपछि त्यहाँ रोजगारी गुमाउनेको संख्या ४ करोड नाघेको छ । यो संख्या अमेरिकामा काम गर्नेहरुको कुल संख्याको २५ प्रतिशत अर्थात् एक चौथाई रहेको अमेरिकी श्रम विभागले जनाएको छ ।

गत मे एक तारिखमा अन्तर्राष्ट्रिय श्रम संगठनले महामारीका कारण विश्वका झन्डै डेढ अर्ब नागरिकले रोजगारी गुमाउने चेतावनी दिएको थियो । संगठनका अनुसार उद्योग, खुद्रा व्यापार लगायतका क्षेत्रमा महामारीले ठूलो प्रभाव पार्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू